खोटाङ चैत्र–११,  खोटाङको प्रसिद्घ धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा १५ दिने रामनवमी मेला धुमधामका साथ लागिरहेको छ । हिन्दु, बौद्घ र किरातीहरुको आस्थाको केन्द्रका रुपमा स्थापित ऐतिहासिक त्रिधार्मिक स्थल हलेसीमा रामनवमीको अवसरमा पूजाआजा गर्ने दर्शनार्थी तथा पर्यटकको घुईंचो लागिरहेका छन् । 
३ दिन अघि नै शुरु भएको १५ दिने मेलामा नेपालका सबै जिल्ला तथा छिमेकी राष्ट्र भारत, चीन, भुटान, बंगलादेश, दक्षिण कोरिया लगायतका हजारौं दर्शनार्थीको उपस्थिति रहेको छ । हलेसीमा यस वर्ष दर्शनार्थीको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले जानकारी दिनुभयो । 
उदयपुर र ओखलढुङ्गाको सिमानामा पर्ने सुनकोसी तथा खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोसीमा पक्की पुल सञ्चालनमा आएपछि हलेसी आउने दर्शनार्थीहरुको संख्या दोब्बर वृद्धि भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताउनुभयो । दर्शनार्थीको बाक्लो भिड रहेकाले मेलालाई व्यवस्थित पार्न स्वयम्सेवक परिचालन गरिएको छ ।
मेला अवधिभर अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीको टोली समेत परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जानकारी दिनुभयो । 
धार्मिक तथा साँस्कृतिकरुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । हलेसीमा महादेवगुफा, धर्मद्धार, पापद्धार, बसाहागुफा, भैरवगुफा, दुंदेलोगुफा लगायत धार्मिक तथा पर्यटकीयस्थल अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकका साथै पूजाआजा गर्न भक्तजन आउने गरेका छन् । 
हलेसीमा रामनवमी, शिवरात्री, बालाचर्तुदशी, हरितालिका तिज, बोलबम लगायतमा ठूलो मेला लाग्ने गरेको छ ।