खोटाङ चैत्र–११, बिभिन्न बिधाबाट खोटाङको गरिमा बढाउने ६ जना बिशिष्ट ब्यक्तिलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । खोटाङलाई पृष्ठभूमि बनाई बिभिन्न स्थान र बिधाबाट जिल्लाको गरिमा बढाउने कार्य गरेको भन्दै रावासावा प्राज्ञिक समाज नेपाल काठमाण्डौंले आईतबार उक्त पुरस्कार र सम्मान प्रदान गरेको हो । 
समाजले काठमाण्डौंको शंखमुलस्थित पब्लिक फुड गार्डेनको सभाहलमा आयोजना गरेको बिशेष कार्यक्रममा ‘रावासावा कला प्रतिभा पुरस्कार’बाट चर्चित गायिका सत्यकला राई र ‘रावासावा साहित्य प्रतिभा पुरस्कार’बाट कबि तथा गीतकार ईश्वर चाम्लिङलाई पुरस्कृत गरेका छन् ।  
समाजले हरेक दुई वर्षमा प्रदान गर्दै आएको जनही नगद १० हजार रुपैंयाँ राशी र ताम्रापत्रले राईद्वयलाई पुरस्कृत गरिएको महासचिब बम बानियाँले जानकारी दिनुभयो ।  
यस्तै, यस वर्ष साहित्यकार मदन राई ‘लामाखुले’लाई रावासावा साहित्य सम्मान, पुर्वशिक्षक लक्ष्मीदास राजभण्डारी ‘सुमन’लाई रावासावा शिक्षा सम्मान, कलाकार लक्ष्मी गिरीलाई रावासावा कला सम्मान र समाजसेवी मनिकुमार राईलाई रावासावा समाजसेवा सम्मान प्रदान गरिएको महासचिब बानियाँले बताउनुभयो । 
पुरस्कार तथा सम्मान साहित्यकार जसराज किराती र कमलाभक्त प्रतिष्ठानका संस्थापक कमला राजभण्डारी र भक्तराज भण्डारीले संयुक्त रुपमा प्रदान गर्नुभएको हो ।