खोटाङ चैत्र–१५, संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री रबिन्द्र अधिकारीले बर्तमान सरकारले बिकास र सम्बृद्धिको यात्रालाई अगाढि बढाएर देशको स्वाभिमान उच्च राख्ने बताउनुभएको छ । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा आयोजना गरिएको धार्मिक तथा पर्यटकीय महोत्सवको बिहिबार उद्घाटन गर्दै मन्त्री अधिकारीले यस्तो बताउनुभएको हो । 
लामो अस्थिरता र संक्रमणकालका कारण देशको बिकास अवरुद्ध भएको बताउँदै मन्त्री अधिकारीले सरकारले वर्तमान सरकारको प्रमुख जिम्मेवारी लोकतन्त्रलाई संस्थागत गर्दै देशमा शुसासन कायम गर्ने रहेको उल्लेख गर्नुभयो ।  स्थानीय सरकार तथा प्रदेश सरकारसँग समन्वय गरेर चौतर्फी बिकासलाई अगाढि बढाउनु अहिलेको आवश्यक्ता रहेको मन्त्री अधिकारीको भनाई छ । 
मन्त्री अधिकारीले स्वाभीमानी र सम्बृद्ध देश बनाउनका लागि लामो संक्रमण काल पार गरेर नयाँ सरकार आएको बताउँदै संसारका जुनसुकै ठाउँमा पुग्दा पनि नेपालीले शिर ठाडो पार्ने देश बनाउन सरकार खडा भएको जनाउनुभयो । सगरमाथाको देश, गौतमबुद्ध जन्मेको देश, भीमसेन थापा, भक्तीथापा, बलभद्र र अमरसिं थापाको जन्मेको देशको इतिहासमा कहिल्यै पनि उपनिबेस नभएको दाबी गर्नुभयो । कसैको दासता स्विकार नगरेको देशमा त्यही देशको इतिहास फर्काउन सरकार लागी पर्ने अधिकारीले स्पष्ट पार्नुभयो । 
हेलीकोप्टरबाट खोटाङ आएका मन्त्री अधिकारीले वर्तमान सरकार पटक–पटक सरकार परिवर्तन हुने, मन्त्री, प्रधानमन्त्री परिवर्तन हुने अव्यवस्थालाई चिरेर आएको स्मरण गराउनुभयो । उहाँले सरकार सबै दलसँग हातेमालो गर्नका लागि तयार रहेको समेत जनाउनुभयो । 
२०÷३० वर्षसम्म एकले अर्कालाई गाली गर्दै बितेको भन्दै मन्त्री अधिकारीले सकरात्मक सोचका साथ मिलेर देश बनाउन प्रतिपक्षी दललाई आग्रह गर्नुभयो ।
पर्यटन क्षेत्रको विकास लागि सन् २०२० सम्ममा १५ लाख पर्यटक नेपाल भित्रयाउँने योजना रहेको मन्त्री अधिकारीले जानकारी गराउनुभयो ।