खोटाङ चैत्र–२०, खोटाङमा १० बर्षदेखि २० बर्ष उमेरका बालिका तथा युवतीहरुमा यौन हिंसाका घटना बढी हुने गरेको पाईएको छ । जिल्ला प्रहरी कार्यालयको त्रिवर्षीय तथ्याङ्कमा आर्थिक वर्ष ०७३÷०७४ मा सबैभन्दा बढी यौन हिंसाका घटना भएकोमा उक्त उमेर समुहका बालिका तथा युवती पीडित बनेको पाईएको हो । 
जिल्ला प्रहरी कार्यालयमा मंगलबार आयोजित सरोकारवालाहरुको सो सम्बन्धी अन्र्तक्रियात्मक कार्यक्रममा प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले यौनजन्य हिंसाको घटना बढिरहेको जानकारी गराईएको हो ।  महिला तथा बालिकामाथि हुने हिंसा अन्र्तगत जबरवस्ती करणी र जबरजस्ती करणी उद्योगको घटना बढी हुने गरेको प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।  
अघिल्लो आर्थिक बर्ष ०७२÷७३ मा ६ जना जबरजस्ती करणीबाट पीडित बनेका थिए । सोही बर्ष ५ वटा जबरजस्ती करणी उद्योगको घटना प्रहरीमा दर्ता गरिएको थियो । 
यस्तै, ०७३÷७४ मा हिंसाको घटना दोब्बर वृद्धि भई बलात्कारका १३ वटा घटना र बलात्कार प्रयासका सात वटा घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालयको अभिलेखमा उल्लेख छ । त्यस्तै, ०७४÷०७५ मा ५ जना बलत्कार तथा दुई जना बलत्कार प्रयासबाट पीडित बनेको प्रहरीले जनाएको छ । आठ गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १५ वटै वडा, दिप्रुङ गाउँपालिका–७ टेम्मा र साकेला गाउँपालिका–२ रतन्छा  रहेको प्रहरीले पहिचान गरेको छ ।
 पीडितमध्ये १० देखि २० वर्ष उमेर समूहका १७ जना र  २० देखि २५ वर्ष उमेर समूहका ११ जना रहेका छन् । 
पछिल्लो समयमा देशभरि नै करणी र र करणी उद्योगका घटनाहरु वृद्धि हुँदै गएको भन्दै सरोकारवाला पक्षले गम्भिरता पूर्वक नलिएको जनगुनासो बढेको छ ।   
स्थानीय तह, वडास्तर, सरोकारवाला निकाय र विद्यालयमा यस विषयमा सरोकारवाला निकायले वृहत जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने सरोकारवालाले सुझाव दिएका छन्  । 
अपराध नियन्त्रण गर्नका लागि सरोकारवाला निकायहरुको प्रभावकारी समन्वयात्मक भूमिका निर्धारण गर्ने तयारी गरिएको प्रहरी कार्यालयले जनाएको छ । तीन महिने अवधीमा अपराध बढ्नुको कारणहरु पत्ता लगाउँदै अपराध न्युनिकरणको उपाय पत्ता लगाउन प्रभावकारी कार्ययोजना तयार पारिने प्रहरी प्रमुखले बताउनुभएको छ ।  
तीन महिने कार्ययोजना अन्तर्गत अपराध र रोकथाम तथा न्यूनिकरणका लागि चेतना जगाउन जनचेतना कार्यक्रम संचालन गर्ने, महिला शिक्षा तथा बालबालिका शिक्षामा जोड दिईने छ । लैङ्गिक आधारमा हुने हिंसा तथा विभेद्हरुको अन्त्य गर्नको लागि मौजुदा कानूनको प्रभावकारी कार्यान्वयनमा जोड दिने, स्थानीय तहसँग समन्वय गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जबरजस्ती करणी र उक्त उद्योगमा डर त्रास, धाक–धम्की देखाई, ललाई फकाई, प्रेम बिवाहको बहाना बनाई घटना घटाउने गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।