
निशा राई/भूमिका न्यौपाने (प्रशिक्षार्थी पत्रकार)खोटेहाङ गापा
चैत्र–२१, खोटाङमा ससुरासँगको झगडापछि बुहारीले आफ्नै घरमा आगो लगाई जलाएकी छिन् ।
जिल्लाको दक्षिणी गाउँपालिका खोटेहाङ–७ की आस्मा तामाङले ससुरा प्रेमबहादुर तामाङसँगको झगडापछि गए राति आफ्नै घरमा आगो लगाएर खरानी बनाएकी हुन् ।
ससुरासँगको झगडापछि आस्माले लगाएको आगोले दुईतले घर तथा घरभित्र भएको सम्पूर्ण समान जलेर नष्ट भएका छन् । उक्त गाउँको धनमुडा बेँसी भन्ने स्थानमा सासु–ससुरासँगै बस्दै आएकी आस्माले घरमा आगजानी गर्दा घर नजिकै रहेको गाईवस्तु बाँध्ने गोठ र गोठमा बाँधिएका दुई वटा बाख्रा–खसी जलेर मर्नुका साथै ठूलो धनराशी क्षति भएको प्रहरीले जनाएको छ ।
ससुरासँगको आपसी झगडापछि आस्माले राति करिब दश बजेतिर घरमा आगो लगाएको पारिवारिक श्रोतले जनाएको छ ।
एकान्त ठाउँमा रहेको घरमा भएको आगलागी राति नै घटनास्थल पुगेका स्थानीय र प्रहरीले बुधबार बिहान मात्र नियन्त्रणमा लिएका थिए । आगलागीबाट भएको क्षतिको बिस्तृत जानकारी आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय खोटाङबजारका प्रहरी नायब निरीक्षक पवनकुमार यादवले जानकारी दिनुभयो ।
आगजनी गर्नुअघि आस्माले ससुराको दाजु ललितबहादुर तामाङलाई कुटपिट समेत गरेको प्रहरीले जनाएको छ । निसन्तान रहेका करिब ७६ वर्षीय ललितबहादुर भाइ प्रेमबहादुरकै घरमा बस्दै आएका छन् ।
बुहारीबाट कुटिएका ललितबहादुरको देब्रे हात तथा शरीरको विभिन्न ठाउँमा निलडाम रहेको प्रत्यक्षदर्शीले बताएका छन् । कुटपिट तथा आगजनीका घटना लगत्तै प्रहरीले आस्मालाई नियन्त्रणमा लिएको छ ।
तामाङ परिवारमा लामो समयदेखि झगडा रहेकाले थप अनुसन्धान र कारवाही गर्न जिल्ला प्रहरी कार्यालय पठाइएको प्रहरीले जनाएको छ । प्रेमबहादुरको छोरा हरि तामाङसँग सौतामाथि आएकी आस्माले जेठीपट्टीको छोरीलाई समेत यसअघि निर्घात कुटपिट गरेपछि इलाका प्रहरीमा झिकाएर मिलापत्र गराइएको थियो ।
बुहारी आस्माले भने आफुले घरमा आगो नलगाएको जिकिर गरिरहेकी छिन् । सम्बन्धित ब्यक्तिहरुबीच थप अनुसन्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालयमा नै पठाउने तयारी गरिएको ईलाका प्रहरी कार्यालयले जनाएका छन् ।