खोटाङ  चैत–२६,  खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम रातमाटेमा आगलागी हुँदा चार घर तथा गोठ जलेर नष्ट भएको छ । आईतबार स्थानीय पदमराज राईको घरबाट सल्किएको आगोले छिमेकी अकिलराज राई, अगमराज राई र गमराज राईको घर तथा गोठ जलेर नष्ट भएको हो ।
आगलागीमा पदमराजको २४ लाख ३० हजार, अकिलराजको २५ लाख ७९ हजार, अगमराजको २४ लाख ५१ हजार, गमराजको २२ लाख ९६ हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।
 यस्तै, गोठ जल्दा गमराजको ३ वटा बंगुर, ११ वटा बाख्रा र ८ वटा पाठा, अकिलराजको १ वटा बाख्रा र ९ वटा पाठा, पदमराजको २ वटा बंगुर र ४ वटा बाख्रा तथा अगमराजको २ वटा बंगुर जलेर मरेको छ । आगलागीमा मानबीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
आगलागीबाट बिचल्नीमा परेका अग्नी पीडितलाई आईतबार राती पाल, चामल, नुनतेल, तरकारी, चिउरा, चाउचाउ लगायत खाद्यान्न प्रदान गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो । 
उक्त नगरपालिकामा यसअघि नै पनि ७ बढी घरहरु जल्दा करोडौंको क्षति ब्यहोर्नु परेको थियो । 
जिल्लामा यो बर्ष मात्र ५० घर जलेर नष्ट भएका छन् ।