
खोटाङ बैशाख–५, खोटाङ सेवा समाज हङकङको पहलमा स्थापित खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले आगलागीबाट बिस्थापित खोटाङका चार परिवारलाई राहत रकम प्रदान गरेको छ । सहयोग कोषले गत चैत्र २५ गते भएको आगलागीमा बिस्थापित भएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम रातमाटेका पदमराज राई, अकिलराज राई, अगमराज राई र गमराज राईको परिवारलाई प्रतिपरिवार ५ हजारका दरले राहत रकम प्रदान गरेको हो ।
कोषबाट अग्नी पीडितको सहज जीवन यापनका लागि बुधबार राहत रकम प्रदान गरिएको प्राकृतिक प्रकोप सहयोग कोषका अध्यक्ष भोगेन एक्लेले बताउनुभयो । पदमराजको घरबाट सल्किएको आगोले चार स्थानीयको घर जलेको थियो ।
यस्तै, प्राकृतिक प्रकोप सहयोग कोषले चट्याङ लाग्दा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा ओखरबोटेका ६५ वर्षीय सम्बरबहादुर दाहालको परिवारलाई पनि ५ हजार राहत प्रदान गरेको छ । चैत २१ गते चट्याङ लाग्दा गम्भीर घाईते भएका दाहालको उपचारका लागि जिल्ला अस्पताल लैजानेक्रममा मृत्यु भएको थियो ।