
माघ–७, खोटाङको मेवा, सावा र साप्सु खोला संरक्षण समितिले खोलामा बिष तथा करेन्ट हालेर माछा मार्नेहरुको बिषयमा जानकारी दिने व्यक्तीलाई पुरस्कृत गरिने भएको छ ।
आफ्नो आँखा छलेर खोलामा बिष तथा करेन्ट हालेर माछा मार्नेक्रम नरोकिएको भन्दै संरक्षण समितिले मेवा खोला, सावा खोला र साप्सु खोलामा बिष तथा करेन्ट हालेर माछा मार्नेहरुको बिषयमा स–प्रमाण जानकारी दिने व्यक्तीलाई पुरस्कृत गर्ने भएको हो ।
विष तथा करेन्टका कारण खोलामा भएका बिभिन्न प्रजातीका माछाबाहेक पानीमा भएका सबै जलचर नाश भएको र पर्यावरणमा प्रतिकूल असर परेको भन्दै जलचर संरक्षणमा कडाई गरिएको मेवा सावा र साप्सु खोला संरक्षण समितिका सचिव निर्मल राईले जानकारी दिनुभयो ।
लफ्याङ, मात्तिम, दोर्पा र रतन्छा गाबिसका प्रतिनिधि सम्मिलित संरक्षण समितिले मेवा खोला, सावा खोला र साप्सु खोलाबाट निकासी हुने गिटी, बालुवा तथा ढुंगाको मूल्यमा पनि निर्धारण गरेको छ । साप्सु खोलाको दशमुरे पुलमा बसेको समितिको बैठकले बालुवा प्रति ट्याक्टर एक हजार, गिटी प्रति ट्याक्टर पाँच सय र ढुंगा प्रति ट्याक्टर तीन सय मुल्या निर्धारण गरिएको सचिव राईले बताउनुभयो ।
बालुवा, गिटी तथा ढुंगा निकासीबाट उठेको रकमलाई कोषमा जम्मा गर्ने र तीन वटै खोलाहरुको प्राकृतिक संरक्षणकालागि प्रयोग गरिने संरक्षण समितिले जनाएको छ । यसअघि, उत्तरी गाबिस सुङ्देलका महिलाहरुले पनि स्थानीय खोलामा बिष तथा करेन्ट हालेर माछा मार्न रोक लगाएको छ ।