
खोटाङ बैशाख–१४, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले शिक्षालाई बिकासको पहिलो एजेण्डा बनाउनुपर्ने बताउनुभएको छ । बृहत स्वास्थ्य शिबिर उद्घाटनको लागि बिहिबार खोटाङ आउनुभएको प्रतिनिधि सभा सदस्य थापाले समान हकको पहिलो आधार नै शिक्षा भएकोले अबका बिकासको एजेण्डा शिक्षा नै हुनुपर्ने बताउनुभएको हो ।
जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले आयोजना गरेको तीन दिने बृहत स्वास्थ्य शिबिरको उद्घाटन गर्दै थापाले सबै ठाउँमा आवश्यक पर्ने समान हक र अधिकार शिक्षाले दिलाउने जनाउनुभयो । संविधानले दिएको भाषा, धर्म, राजनीतिक सहभागिता लगायतको समान अधिकार र अवसरमा सहभागी हुने पहिलो आधार नै शिक्षा भएकोमा थापाले जोड दिनुभयो ।
पालिकाको डाडाँगाउँमा आयोजित उद्घाटन समारोहमा सबैले समान ढंगबाट गुणस्तर शिक्षा लिन पाउनुपर्ने भन्दै सबै आमाले कक्षा १२ सम्म पैसा भए पनि नभए पनि पढ्न पाउनुपर्ने उहाँले जिकिर गर्नुभयो ।
शिक्षासँगै स्वास्थ्य जोडिने भएकाले स्वास्थ्यलाई पनि एजेण्डाका रुपमा राख्नुपर्ने उहाँको धारणा छ । स्वास्थ्यका क्षेत्रमा नेपालले ठूलो फड्को मारेको स्मरण गर्दै दश वर्षभित्रमा रेल कुदाउने, एयरपोर्ट बनाउने लक्ष्य राखिरहँदा ३० प्रतिशत बालबालिका कुपोषित छन् भन्नेमा ध्यान दिनु पर्ने उहाँले जनाउनुभयो ।
स्थानीयको बृहत उपस्थितीमा उद्घाटित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्ब मन्त्री थापाले नेपालमा एउटै एजेण्डा समृृद्धि मात्र रहेको बताउनुभएको छ । संविधान निर्माण गर्ने, चुनाव गर्ने लगायत महत्वपूर्ण काम भइसकेकाले अबको काम भनेको समृद्धिको मात्र रहेको दाबी गर्नुभयो ।
प्रधानमन्त्रीको एजेण्डा सबैको साझा एजेण्डाको रुपमा स्विकार गरेको अवस्थामा विकास सबैभन्दा तल्लो तहमा बसेको मान्छेका लागि हुनुपर्छ भन्ने बुझ्नु जरुरी रहेको पुर्बमन्त्री थापाको सुझाब थियो ।
कार्यक्रममा प्रमुख अतिथि थापासँगै बिशेष अतिथिको रुपमा प्रतिनिधि सभा सदस्य खोटाङको बिशाल भट्टराई समेतलाई गरी दुई वटा हेलिमार्फत बिशिष्ट ब्यक्तित्वहरुलाई पालिका ल्याईएको थियो ।
बिशेष अतिथि भट्टराईले गाउँपालिकाले उठाएको जनताको स्वास्थ्यका सवाल प्रशंसायोग्य रहेको बताउनुभयो । सबैले भौतिक निर्माणलाई मात्र बिकास ठानिरहेको सन्दर्भमा मानबीय स्वास्थ्यको क्षेत्रमा बृहत कार्यक्रम आयोजना गर्नु प्रशंसनीय भएको सांसद भट्टराईको भनाई थियो ।
कार्यक्रममा बिरामीलाई हेलिकोप्टर चार्टर गरेर बाहिरी शहर लैजानुपर्ने बाध्यताको अन्त्य गर्न १५ शैययाको अस्पतालको माग गर्दै ज्ञापनपत्र समेत बुझाईएको छ । गाउँपालिकामा अस्पतालको पहल गरिदिन आग्रह गरिएको ज्ञापनपत्र बुझे पश्चात प्रमुख अतिथि थापा र बिशेष अतिथि भट्टराईले अस्पताल स्थापना पहलको लागि प्राथमिकताका साथ लाग्ने आश्वासन दिएका छन् ।
कार्यक्रममा पूर्ब जिल्ला सभापति बिष्णुकुमार राई लगायत राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती थियो ।
शिबिरमा सबै खालको स्वास्थ्य सेवा दिईने गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईले जनाउनुभयो । राईका अनुसार शिबिरमा वरिष्ठ बिशेषज्ञ डाक्टरहरुमार्फत स्वास्थ्य सेवा प्रदान गर्नुका साथै प्रशासनिक तथा अन्य सरकारी सेवाको पनि ब्यवस्था गरिएको छ ।
शिबिर तथा घुम्ती सेवामार्फत नागरिकता, अपाङ्गता परिचयपत्र लगायत मालपोत तथा नापी कार्यालयको सेवा समेत प्रदान गरिने अध्यक्ष राईको भनाई छ ।
गाउँपालिकामा स्वास्थ्य समस्याको जर्जर अवस्था रहेको पाईएको उहाँले दोहो¥याउनुभयो । शिबिरमा उल्लेख्य सेवाग्राहीको सहभागिता रहेको बताईएको छ ।