
खोटाङ बैसाख–१६, खोटाङ सदरमुकाम दिक्तेलबजारमा चिनीमा यूरिया मिसाएर बिक्रि गर्ने ब्यापारी बिरुद्घ मुद्घा दर्ता भएको छ । यूरिया मिसिएको चिनी बिक्री गरेको उजुरी परेपछि पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मकेश्वर पाण्डे बिरुद्ध मुद्धा दर्ता भएको हो ।
रासायनिक पदार्थ मिसावट भएको चिनी बिक्री गरेको भन्दै उपभोक्ताको गुनासो आएपछि सरकारी वकिलमार्फत प्रहरीले व्यवसायी पाण्डे बिरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्धा दर्ता गरेको हो । पाण्डे भेराइटिज विरुद्ध कालोबजारी तथा केही सामाजिक अपराध नियन्त्रण ऐन अनुसारको मुद्धा दर्ता भएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो । मुद्धा दर्तासँगै व्यवसायी पाण्डेबाट २ लाख धरौटी मागिएको प्रशासनले जनाएको छ ।
एक ग्राहकले गत चैत ३० गते शुक्रबार खरिद गरेको चिनीको प्याकेटमा यूरिया मिसिएको मौखिक जानकारी दिएपछि जिल्ला प्रशासन कार्यालयले सोही दिन राती ९ बजे पाण्डे भेराइटिजको पशल तथा गोदामलाई शिलबन्दी गरेको थियो । शिलबन्दी पसल तथा गोदामबाट प्रहरीले बैसाख ११ गते ल्याव टेष्टका लागि चिनीको नमूना संकलन गरेको छ ।