
खोटाङ बैशाख–२१, यातायात सेवा अबरुद्द पारेका भन्दै खोटाङ यातायात व्यवसायी संघका अध्यक्ष सहित चार पदाधिकारीलाई ठप्प प्रहरीले नियन्त्रणमा लिएको छ । सबै खालको सिण्डकेट खारेज गर्ने सरकारको निर्णय बिरुद्द जिल्लामा यातायात सेवा ठप्प पारेको भन्दै प्रशासनको निर्देशनमा यातायात व्यवसायी संघका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष राजकुमार राई, महासचिव रामकुमार हिङमाङ र सल्लाहकार बुद्धिबिनोद लुइटेललाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
यातायात सेवा अवरोधमा उत्रिएका संघको पदाधिकारीलाई गृहको ठाडो निर्देशनमा नियन्त्रणमा लिईएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले बताउनुभयो ।
यातायात व्यवसायीलाई नियन्त्रणमा लिए पनि जिल्लामा यातायातका सवारी साधन सञ्चालनमा आएको छैन ।
सदरमुकाम दिक्तेलबजारस्थित किरातचौकमा टायर बालेर बिहानैदेखि यातायात सेवा अवरुद्द बनाउन उत्रिएका ब्यवसायीले शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप नगर्न अनुरोध गरेका थिए । ब्यवसायीको हीत बिपरित निर्णय खारेजी गर्न माग गरेका यातायात ब्यवसायीले नाचगान गर्दै यातायात सेवा ठप्प पारेका थिए ।
पदाधिकारी नियन्त्रणप्रति घोर भत्र्सना गर्दै बिना सर्त रिहाई नगरे अनिश्चितकालिन यातायात बन्द गर्ने संघको सल्लाहकार गणेशबिक्रम शाहीले चेतावनी दिनुभएको छ ।
जिल्लामा रहेको तीन सय यातायातका साधन सञ्चालनमा रहेका छन् । सवारी साधन नचल्दा बिरामी तथा आकस्मिक कामका लागि यात्रा गर्ने स्थानीय मारमा परेका छन् ।