
खोटाङ बैशाख–२१, खोटाङमा जारी दोश्रो खोटाङ हलेसी खुला अन्र्तराष्ट्रिय कराते प्रतियोगितामा नेपाली सेनाले लिएको अग्रता कायमै राखेको छ । नेपाल सितोरियो कराते संघको आयोजनामा बिहिबारदेखि सुरु भएको प्रतियोगितामा शुरुदेखि नै अगाडी रहेको सेनाको टोलीले हालसम्म ६ स्वर्ण जित्दै शीर्ष स्थान कायमै राखेका हुन ।
सर्वाधिक राशीको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पाहुना टिम भारत र नेपालकै ३ नम्बर प्रदेश २÷२ स्वर्ण सहित नेपाली सेनालाई पछ्याइरहेको छ । शुक्रबारसम्मको नजिता अनुसार आयोजकले १ स्वर्ण हात पार्दा पाहुना टोली श्रीलंकाले २ कास्य मात्र जितेको निर्णायक टोलीका संयोजक राजेन्द्र कपालीले बताउनुभयो ।
कराते प्रतियोगिताका लागि श्रीलंका, भारत, नेपाली सेना, १ नम्बर प्रदेश, २ नम्बर प्रदेश, ३ नम्बर प्रदेश, ४ नम्बर प्रदेश, ६ नम्बर प्रदेश र आयोजक सहित ९ टिमको प्रतिष्पर्धा भइरहेको छ ।
२०७३ साल जेठ २० देखि २२ गतेसम्म सञ्चालन गरिएको प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताकै निरन्तरता स्वरुप हालसम्मकै ठूलो धनराशीको दोश्रो खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता आयोजना गरिएको हो ।
सदरमुकाम दिक्तेलबजारको माटिकोरे खेलमैदानमा जारी प्रतियोगीतामा प्रथम, दोश्रो र तेश्रो हुने टिमले क्रमशः १ लाख, ७० हजार, ५० हजार नगदको साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक नेपाल सितोरियो कराते संघको खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभयो । प्रतियोगितामा अनुशासित समूह, उत्कृष्ट मार्चपास, उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उत्कृष्ट टिम कोच, उत्कृष्ट टिम व्यवस्थापक, अनुशासित पुरुष तथा महिला खेलाडीलाई जनही २०÷२० हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार १७ स्वर्ण, १७ रजत र ३४ कास्य पदकका लागि विभिन्न तौल समुहका पुरुष÷महिला कुमिते तथा पुरुष÷महिला काँतातर्फ ३ सय १५ खेलाडीले विभिन्न इभेन्टमा प्रतिष्पर्धा गरिरहेका छन् । प्रतियोगिताका कारण दिक्तेल खेलकुदमय बनेको छ ।
खेल संस्कृतिको विकास गर्दै जिल्लालाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले दोश्रो संस्करणको प्रतियोगीता आयोजना गरेको हो ।