खोटाङ  बैशाख–२२,  खोटाङमा सम्पन्न दोश्रो खोटाङ हलेसी खुला अन्र्तराष्ट्रिय कराते प्रतियोगितामा नेपाली सेनाको समुह प्रथम बनेको छ । नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा ९ स्वर्ण, ५ रजत र २ कास्य पदक सहित सेनाको टोली प्रथम भएको हो । 

जिल्ला सदरमुकाम दिक्तेलबजारमा बिहिबारदेखि शुरु भएको प्रतियोगीतामा पाहुना टोली भारतले २ स्वर्ण, ४ रजत र ५ कास्य सहित दोश्रो स्थान प्राप्त गरेको छ । प्रतियोगीतामा १ कास्यसहित पाहुना टोली श्रीलंकाले तेश्रो स्थान प्राप्त गरेको आयोजक नेपाल सितोरियो कराते संघ खोटाङको अध्यक्ष सञ्जयकुमार राईले बताउनुभयो । 

प्रतियोगीतामा नेपालका तर्फबाट नेपाली सेनाले पुरुष कुमितेतर्फ ४५ केजी समुहमा स्वर्णिम मानन्धर, ४५ केजी समुहमा साजन मोक्तान, ४० केजी महिला कुमितेमा बुद्धलक्ष्मी तामाङ, ६१ केजी समुहमा सम्झना घिसिङ, ६७ केजी समुहमा विभुषा थापाले स्वर्ण पदक जितेका छन् । यस्तै, सेनाकै तर्फबाट एकल काँतातर्फ डम्बर आले मगर तथा महिला र पुरुष टिम काँतामा समेत स्वर्ण पदक जितेका छन् । 
प्रतियोगितामा भारतका लागि महिला एकल काँतामा भन्सीका तन्वार र ५० केजी कुमितेमा अर्पणा चाहानले स्वर्ण जितेकी हुन् । श्रीलंकाका लागि कुमिते ६० केजी तौल समुहमा आरएनआइजी पाथारभाकले एक मात्र कास्य पदक दिलाएको आयोजकले जनाएको छ । 
प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने टिमले क्रमशः ७० हजार, ३५ हजार र २५ हजार नगदको साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । 
प्रतियोगितामा ३ नम्बर प्रदेशको आशिष थापाले उत्कृष्ट पुरुष र आयोजककी बिद्याकला राईले उत्कृष्ट महिला खेलाडीको पुरस्कार जितेका छन् । उत्कृष्ट खेलाडीद्वयले जनही नगद १० हजार रुपैंयाँ प्राप्त गरेका छन् । 
यस्तै, नबउदयीमान खेलाडीको नगद तीन हजार रुपैंयाँ पुरस्कार सेनाको मिश्री श्रेष्ठले हात पारेकी छिन् । 
कराते प्रतियोगितामा श्रीलंका, भारत, नेपाली सेना, १ नम्बर प्रदेश, २ नम्बर प्रदेश, ३ नम्बर प्रदेश, ४ नम्बर प्रदेश, ६ नम्बर प्रदेश र आयोजक सहित ९ टिमको प्रतिष्पर्धा भएको आयोजकले जनाएको छ । २०७३ साल जेठ २० देखि २२ गतेसम्म सञ्चालन गरिएको प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताकै निरन्तरता स्वरुप दोश्रो खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता आयोजना गरिएको हो । 
खेल संस्कृतिको विकास गर्दै जिल्लालाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले प्रतियोगीताको आयोजना गरिएको थियो ।