खोटाङ बैशाख–२६,  पुर्वी पहाडी जिल्ला खोटाङ र ओखलढुंगाबीच पहिलो पटक सिधा यातायात शुरु भएको छ । बुधबारबाट सिधा यातायात शुरु भएपछि दुई जिल्ला आवत–जावत गर्दा बीचमा पर्ने हिलेपानीमा अर्लेर अर्को बस घण्टौंसम्म कुर्नुपर्ने बाध्यता हटेको छ । 

दिक्तेलबजारदेखि दैनिक सेवामा बिहान ६ बजे दिक्तेलबजारबाट र साँढे ६ बजे ओखलढुंगाबाट बस छुट्ने ब्यवस्था मिलाईएकोमा हाललाई प्रति ब्यक्ति आठ सय रुपैंयाँ भाडा दर कायम गरिएको छ ।

नाकामा पर्ने दुधकोसीमा पक्की पुल निर्माण भई सञ्चालनमा आईसकेको कारण सिधा यातायात प्रभाबकारी र दीर्घकालिन हुने ब्यवसायीहरुको ठम्याई छ । यससँगै ओखलढुंगासम्म चल्ने बसमा सदरमुकाम दिक्तेलबाट हुर्लुङ, नुनथला, महुरे, बिजुले, अर्खौले, हलेसी, जयरामघाटसम्म स्थानियलाई समेत यात्रा गर्न सहज हुने खोटाङ यातायात व्यवसायी संघको महासचिब राम हिङमाङले जनाउनुभयो ।

हाल जिल्ला सदरमुकामबाट मात्र दैनिक १७ वटा जिप तथा बस बाहिरी जिल्ला छुट्ने गरेको छ ।  हाल दिक्तेल–काठमाण्डौ, दिक्तेल–धरान, दिक्तेल–विराटनगर सिधा यातायात सञ्चालनमा रहेको छ ।
निकट समयमै दिक्तेल–सोलुखुम्बु, दिक्तेल–काकड्भिट्टासम्म सिधा यातायात सञ्चालन हुने महासचिव हिङमाङले बताउनुभयो ।

पहिलो पटक २०६४ सालमा नेपाली सेनाको हेलिकोप्टरबाट झुण्डाएर जिल्लामा दुई मिनी ट्रक भित्र्याईएको थियो । जिल्लामा अहिले तीन सय बढी साना ठूला सवारी साधन सञ्चालनमा रहेका छन् ।