
खोटाङ बैसाख–२६, खेलको माध्यमबाट खोटाङको प्रतिष्ठा कायम गराउने उदेश्यले आयोजना गरिएको सर्वाधिक धनराशीको अनुप स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन भएको छ । खेलकुदको माध्यमबाट पर्यटन तथा ब्यापारको प्रबद्र्दन गर्दै जिल्लाको प्रतिष्ठा कायम गराउने उदेश्यले आयोजना गरिएको प्रतियोगिता जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले बुधबार उद्घाटन गर्नु भएको हो ।
आगामी बैसाख ३१ गतेसम्म सञ्चालन हुने जिल्लाकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा काठमाण्डौं, भोजपुर लगायत १२ टिमको सहभागिता रहेको छ ।

फुटबलका व्यवसायिक खेलाडी उत्पादन गर्दै फुटबलको व्यवसायीकरण गर्ने समेत उदेश्य राखी सञ्चालन गरिएको प्रतियोगिताका बिजेताले नगद १ लाख ५१ हजार १ सय ११, उपबिजेता टिमले नगद ७५ हजार ५ सय ५५ र दुई सेमीफाईनलिस्टले नगद २५/२५ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, उत्कृष्ट डिफन्डर, गोलकिपर, मिडफिल्डर, स्ट्राईकर, सर्वाधिक गोलकर्ता, प्रशिक्षक, अनुशासित टिम, मेन अफ द टुर्नामेन्ट लगायत ८ बिद्यालाई जनही ५ हजारका दरले पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
