
खोटाङ जेठ–२, वैदेशिक रोजगारका क्रममा मृत्यु भएका वा पूर्ण रुपमा अंगभंग भएका व्यक्तिका सन्तानलाई उपलव्ध गराइने छात्रबृत्तिका बारेमा खोटाङका प्रधानाध्यापकहरु नै अलमलमा देखिएका छन् । वैदेशिक रोजगार प्रर्बद्र्दन बोर्डबाट उपलब्ध गराईने वैदेशिक रोजगार छात्रबृत्तिबारे प्रधानाध्यापकहरु स्पष्ट नहुँदा कतिपय बिद्यार्थीले उक्त रकम प्राप्त गर्न सकेका छैनन् ।
बोर्डबाट आएको रकम जिल्ला शिक्षा कार्यालयले सम्बन्धित बिद्यार्थी अध्ययनरत बिद्यालयको खातामा जम्मा गरिदिए पनि सो रकम किन आएको र कसलाई दिने भन्ने बारे प्रधानाध्यापक स्पष्ट नहुँदा सो समस्या आएको बताईएको छ । कक्षा–१ देखि ८ सम्म बार्षिक ८ हजार र कक्षा–९ देखि १२ सम्म बार्षिक १२ हजार रुपैंयाँ ब्यवस्था गरिएको छात्रबृत्ति रकम कसलाई दिने भन्ने उल्लेख नगरी खातामा जम्मा हुने हुनाले बितरणमा समस्या हुने गरेको प्रधानध्यापकहरुको भनाई छ ।

केहि बिद्यार्थीले सुचनाकेन्द्र मार्फत छात्रबृत्ति रकम आएको थाहा पाएर लिए पनि कतिपयले हालसम्म पनि अघिल्लो वर्षको छात्रबृत्ति लिएका छैनन । अघिल्लो वर्ष खोटाङमा २२ जनाको छात्रबृत्ति स्वरुप वैदेशिक रोजगार प्रबद्र्धन वोर्डले जिल्ला शिक्षा कार्यालयमा १ लाख ८४ हजार रकम पठाइदिएको थियो । जिल्ला शिक्षा कार्यालय, खोटाङले भने श्रोत ब्यक्तीहरु मार्फत सम्बन्धित बिद्यालयमा खबर पठाइएको जनाएको छ ।
हुँदै नभएको बिद्यालयको नाममा पठाईएको रकम अलपत्र
सोही छात्रवृत्ति स्वरुप भन्दै जिल्लामा हुँदै नभएको बिद्यालयको तीन जना बिद्यार्थीको नाममा आइपुगेको रकम महिनौ वितिसक्दा पनि अलपत्र भएको छ । छात्रवृत्तिका लागि उल्लेख गरिएको खोटाङको चण्डी ब्राइट फ्युचर नामको बोर्डिङ स्कूल जिल्लामै रहेको छैन ।
उक्त बिद्यालयको कक्षा–१ मा अध्ययनरत कुमार बस्नेत, कक्षा–४ मा अध्ययनरत हरिबहादुर बस्नेत र कक्षा–८ मा अध्ययनरत सरिता बस्नेतको नाममा सो रकम पठाइएको हो । तीन जना बालबालिकाका लागि जनही ८ हजारका दरले २४ हजार रकम पठाइएकोमा हालसम्म सो रकमको लागि कोही पनि नआएका कारण सो रकम जिल्ला शिक्षा कार्यालयकै खातामा रहेको छ ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले गत असोज ८ गतेको मितिमा छात्रबृत्ति रकम पठाएको पत्र पठाएको हो । जिल्ला शिक्षा कार्यालयलाई पठाईएको पत्रमा सो रकम सम्बन्धित बिद्यालयमार्फत बिद्यार्थीलाई प्रदान गरी भर्पाई पठाउनु भनि उल्लेख गरिएको छ ।