
खोटाङ जेठ–७, खोटाङमा स्थापित ‘टेम्के तुवाचुङ प्रतिष्ठान’को सहयोगार्थ किराती संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘यारी’लाई हङकङमा प्रर्दशन गर्ने तयारी गरिएको छ । बिभिन्न बिधाबाट जिल्लाको प्रतिष्ठा कायम गराउने ब्यक्तिमध्ये एक जना छानी बर्षेनी पुरस्कृत गर्दै आएकोमा सोही कोष बृद्दि गर्ने उदेश्यले उक्त चलचित्र प्रर्दर्शन गर्ने तयारी गरिएको हो ।
पछिल्लो समय लोकप्रियता कमाउँदै चलचित्र बोर्डबाट सम्मान समेत पाईसकेको युवराज राईद्वारा निर्देशित चलचित्रलाई आगामी असार–१० गते साँझ हङकङको याउमा तेई स्थित कम्युनिटी हलमा बिशेष प्रर्दर्शन गर्ने जनाईएको छ । आधुनिकतामा हुर्किरहेका हङ्कङेली नयाँ पुस्तालाई आफ्नो धर्म, संस्कृति र परम्पराको जानकारी र बोध गराउँदै अक्षय कोषको बृद्दि गर्ने समेत उदेश्य राखिएको तेजप्रकाश राई(अधिराज)ले जानकारी दिनुभयो ।
प्रतिष्ठानमा आबद्द भई हङकङमा निरन्तर क्रियाशील राईको अनुसार हालसम्म २ लाख रुपैंयाँको कोषबाट पुरस्कार प्रदान गरिँदै आएकोमा सो रकमलाई बृद्दि गराई जिल्लाको हीतमा काम गर्ने जिल्लाकै ब्यक्तिलाई पुरस्कृत गरिने छ । साँझ साँढे ६ बजेबाट हुने चलचित्र यारीको बिशेष प्रर्दशनीमा प्रबेश गर्न सहयोग स्वरुप १ सय ५० हङकङ डलर तोकिएको तेजप्रकाशले जनाउनुभयो । हालै विभिन्न संस्थाका प्रतिनिधीहरुको उपस्थितीमा यारी प्रर्दशनीबारे जानकारी सभाको आयोजना गरी उक्त चलचित्रकोे गीत, प्रोमो सहित पोष्टर सार्वजनिक गरिएको थियो ।
टेम्के तुवाचुङ पुरस्कारबाट यसअघि कबि चन्द्र रानोहँछा, नेपाल सितोरियो कराते संघ खोटाङको अध्यक्ष सञ्जयकुमार राई र गायिका राधा राई पुरस्कृत भईसकेका छन् । चन्द्र र राधालाई कला, साहित्य र संगीतको माध्यमबाट तथा कराते खेलको माध्यमबाट पदक भित्र्याउँदै जिल्लाको गरिमा बढाउन पहल गरेकोमा सञ्जयलाई पुरस्कृत गरेको प्रतिष्ठानले जनाएको छ ।