जेठ–८ खोटाङ,
 खोटाङको सिनियर तथा प्रभाबशाली नेताको रुपमा लिईने पूर्ब सांसद टंक राईको नाम नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यमा उल्लेख छैन । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भएपछि माओवादी केन्द्रको तर्फबाट केन्द्रीय सदस्यमा सिफारिस गरिएको राईको नाम केन्द्रीय कार्यालयले सार्बजानिक गरेको बिज्ञप्तीमा उल्लेख नभएको हो ।

एकीकृत पार्टीको क्रम संख्या ३१ मा पर्नुभएको पूर्व स्थायी समिति सदस्य राईको नाम मङ्गलबार सार्वजनिक गरिएको केन्द्रीय सदस्यको नामावलीमा परेको छैन । दुई ठूला कम्युनिष्ट पार्टीबीच गत जेठ–३ गते औपचारिक एकता घोषणा भएलगत्तै बसेको माओवादी केन्द्रको बैठकले टंक राईको नाम ३१ औं नम्बरमा राखेर एकता संयोजन समितिलाई बुझाएको थियो । माओवादी कन्द्रको तर्फबाट केन्द्रीय सदस्यमा सिफारिस भएका राईको नाम महासचिव विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको विज्ञप्तीमा नपरेपछि कार्यकर्तामा खैलाबैला मच्चिएको छ ।

पार्टी एकताअघि पोलिट ब्यूरो सदस्य रहनुभएका राईसँगै एकतापछि केन्द्रीय सदस्यमा सिफारिसमा पर्नुभएका पूर्व पोलिट ब्यूरो सदस्यहरु समिता कार्की (अस्मिता), रामकुमार राई (पासाङ) र दुर्गाजयन्ती राईको नाम विज्ञप्तीमा उल्लेख छ । एमालेको तर्फबाट सिफारिसमा पर्नुभएका विशाल भट्टराई, खगेन्द्र राई र राजन राईको नाम रहेको छ ।

केन्द्रीय कमिटिमा आफ्नो नाम नभएको प्रति राईले कुनै प्रतिक्रिया दिनुभएको छैन । उहाँले आफू विज्ञप्ती तयार पार्नुमा संलग्न नभएकाले आफ्नो नाम भए÷नभएको बारे केही जानकारी नभएको बताउनुभयो ।
आफु उक्त पार्टीको बैठकमा समेत सहभागी भईसकेको राईको भनाई छ ।
   
               
                                  (पार्टी केन्द्रीय कार्यालयले जारी गरेको नामावली सहितको बिज्ञप्ती )