असार–५, नेकपा–माओवादीका कार्यकर्ताले ज्यान जोखिममा बनाउने धम्की दिएपछि गाउँबाट विस्थापित भएको भन्दै खोटाङका एक व्यक्तिले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को कार्यालयमा उजुरी दिएका छन् । 
डुम्रेधारापानी–९ भोर्लेनीका चन्द्रसिं बस्नेतले पटक–पटकको धम्कीका कारण गाउँमा बस्ने वातावरण नभएको भन्दै निर्भिकता पूर्वक घर फर्काईदिने वातावरण मिलाईदिन आग्रह गर्दै मंगलबार कार्यालयमा उनुरी दिएका हुन् ।
नेकपा–माओवादीका जिल्ला सह–सेक्रेटरी उत्तर राईको नेतृत्वमा माओवादी समर्थित स्थानीय दिनानाथ पाण्डे, भवकृष्ण पाण्डे, तुलबहादुर मगर र डिल्लीबहादुर मगरले किसानको धान लुटेर लगेको आरोपमा हातखुट्टा भाँच्ने धम्की दिएको उनले दिएको उजुरीमा उल्लेख छ । उनीहरुको पटक–पटकको धम्कीका कारण आफू गाउँ बस्न नसकेको भन्दै सदरमुकाम दिक्तेल आएका बस्नेतले कार्यालयमा आएर उजुरी दिएको इन्सेक खोटाङका प्रमुख डिएम चाम्लिङले बताउनुभयो । 
यसअघि २०७० वैशाख २३ गते नेकपा–माओवादीले डुम्रेधारापानी गाविस–५ मा रहेको करिब ४० रोपनी ऐलानी जग्गामा पार्टीको झण्डा गाडि कब्जा गरेको विज्ञप्तीमार्फत जनाएको थियो । माओवादीले कब्जा गरेको जग्गा आफ्नो भएको भन्दै बस्नेतले ०७० जेठ २९ गते फिर्ता गर्न पहल गरिदिन भन्दै प्रहरीमा उजुरी समेत दिएका थिए । 
यसै विषयलाई लिएर माओवादीले आफूलाई बारम्बार धम्की दिदै आएपछि आफू गाउँबाट विस्थापित हुनुपरेको बस्नेतको भनाई छ । बिना कसुर आफू गाउँबाट विस्थापित हुनुपरेको भन्दै धम्की दिने व्यक्तिहरु झिकाई कब्जा गरिएका जग्गा फिर्ता गराईदिन र घर फर्किएर निर्भिकता पूर्वक बस्ने वातावरण मिलाईदिनहुन इन्सेक कार्यालयलाई बस्नेतले उजुरी दिएका हुन् । 
यता नेकपा–माओवादीका विशेष एरिया सेक्रेटरी झमप्रसाद आचार्यले भने जग्गा कब्जा गरेको भए पनि उनलाई आफ्नो कार्यकर्ताले धम्की दिएको भन्ने आधिकारीक जानकारी नभएको बताउनुभएको छ । गरीब किसानले कजाएको जग्गामा उब्जिएको अन्नपात समेत बस्नेतले रातको समयमा हडप्ने गरेका कारण आफ्नो पार्टीले जग्गा कब्जा गरेको आचार्यले दावी गर्नु भयो ।