असार–११, जिल्लाको बिकास निर्माण तथा सामाजिक सुरक्षा भत्ता लगायतका बिषयमा नेकपा एमालेले बुझाएको ज्ञापनपत्रका बिषयमा जिल्ला बिकास समिति खोटाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्लाको सडक निर्माणकालागि आएको बजेट फ्रिज हुन लागेको तथा सामाजिक सुरक्षा भत्ता नपाएको बिरोधमा एमालेले गत असार–७ गते शुक्रबार बुझाएको ज्ञापनपत्रका बिषयमा जिल्ला बिकास समितिले मंगलबार बिज्ञाप्तीमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
आर्थिक वर्ष ०६९/७० को सडक निर्माणको सवा दुई करोड बजेट फ्रिज भएर जान लागेको भन्दै एमालेले ज्ञापनत्र बुझाएको पाँच दिनपछि जिल्ला बिकास समितिले आफ्नो धारणा सार्वजनिक गरेको हो ।
जिल्ला बिकास समितिले सडक निर्माण लगायत जिल्लाको समग्र बिकास निर्माण लगायतको रकम फ्रिज हुनबाट बचाउनकालागि आफु सचेत रहेको स्पष्ट पारेको छ । स्थानीय बिकास अधिकारी युवराज अधिकारीले जारी गर्नु भएको विज्ञाप्तीमा नियम कानूनको परिधभित्र रहेर हुनेसम्मका व्यवहारिक उपायहरु अवलम्बन गर्दै बजेट फ्रिज नहुने वाताबरण बनाउन प्रयत्नरत रहेको उल्लेख छ ।
बिज्ञाप्तीमा गत आर्थिक वर्षमा सामाजिक सुरक्षाभत्ता नपाएका जिल्लाका ३२ गाबिसका चार हजार नागरिकलाई भत्ता उपलव्ध गराउन अझै पनि पहल भइरहेको र आगामी दिनमा मन्त्रालयबाट अपुग रकम आए समानुपातिकरुपमा बितरण गर्ने जनाइएको छ ।
जिल्लाको सडक निर्माण लगायतका शिर्षकमा आएको रकम फ्रिज भएर जान लागेको भन्दै एमालेले गत शुक्रबार जिल्ला बिकास समितिको ध्यानाकर्षण गराएको थियो ।