असार– २२, बिग्रीएको ट्रान्सफर्मर मर्मत नहुँदा खोटाङको याम्खाका सर्वसाधारण दुई महिना अघिदेखि बिजुली बाल्नबाट बञ्चित भएका छन् ।
गत बैसाखमा जलेको २५ केभी क्षमताको ट्रान्सफर्मर मर्मत नहुँदा याम्खा–१ बार्लाङका ८५ घर परिवार बिजुली बत्ती बाल्नबाट बञ्चित भएका हुन् ।
गाईघाट–जलजले–दिक्तेल ११ केभी प्रशारण लाईन अन्तरगत गत फागुनमा गाबिसमा बिस्तार गरिएको बिद्युतको ट्रान्सफर्मर मर्मत गर्नकालागि नेपाल बिद्युत प्राधिकरण शाखालाई पटक–पटक आग्रह गर्दापनि मर्मत नभएको उपभोक्ता समितिका निवर्तमान अध्यक्ष हरिबहादुर विष्टले बताउनु भयो ।
बैशाखमै एक पटक जलेको ट्रान्सफर्मर फेरिएको केही समयमपछि नै पुःन जलेको उपभोक्ताको भनाई छ । जलेको ट्रान्सफर्मर मर्मतकालागि काँधमा बोकेर सदरमुकामसम्म ल्याउने र लानेक्रममा करिब ८० हजार खर्च भइसकेको विष्टले बताउनु भयो । बिजुली बत्ती बाल्न नपाए पनि विजुलीको महिनावारी महशुल भने प्राधिकरणलाई बुझाइरहनु परेको उपभोक्ता दिपबहादुर राईले बताउनु भयो । गएको फागुनमा गाविसको ४० प्रतिशत र जनश्रमदान गरी छिमेकी गाबिस डाडाँगाउको पाटीभञ्ज्याङ स्यालगैंडेबाट याम्खामा बिद्युत बिस्तार गरिएको हो ।
यसैबीच, ट्रान्सफर्मर जलेपछि लिच्कीराम्चेमा एक महिनादिन अघिदेखि बिद्युत अवरुद्ध भएको छ । २५ केभी क्षमताको ट्रान्सफर्मर जलेपछि लिच्कीराम्चे–१, ४ र ५ वडाका सर्वसाधारणले महिना दिनअघिदेखि बिजुली बाल्न नपाएका स्थानीय लालबहादुर राईले बताउनु भयो ।