असार–२५, अहेवको हेलचक्र्याईका कारण खोटाङमा दुई बालबालिकाको ज्यान गएको उजुरी परेपछि अहेवको क्लिनिकका औषधि शिलबन्दी गरिएको छ ।
हेलचक्र्याईका कारण आफन्तको ज्यान गएको भन्दै मृतकका आफन्तले उपस्वास्थ्यचौकीका अहेव गगनदेव शाह बिरुद्ध कारबाहीको मागसहित उजुरी दिएपछि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले अहेव शाहको कोठामा राखिएका औषधि शिल बन्दी गरेको हो ।
शिलबन्दी गरिएका औषधि बैध भए–नभएको, म्याद भए–नभएको लगायतका बिषयमा छानबीन गर्नकालागि जिल्ला स्वास्थ्य कार्यालयका दुई जना स्वास्थ्यकर्मीको टोलीलाई जिम्मा दिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताउनु भयो । छानबीन टोलीले शिलबन्दी गरिएका औषधिका बिषयमा प्रतिबेदन तयार गरी प्रशासन समक्ष पेश गर्ने जनाएको छ । प्रशासनका अनुशार अहेवको औषधिकक्षमा तालबन्दी गरिएको छ ।
अहेवको हेलचक्र्याईका कारण आफन्तको ज्यान गएको भन्दै मृतकका आफन्तले शाहलाई कारबाही गर्न र क्षतिपूर्तिको माग सहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए ।
अहेव शाहको हेल्चक्र्याईका कारण गएको तीन हप्ताको अवधिमा मात्तिम–९ का भगतलाल चौलागाइँकी डेढ वर्षीया छोरी पवित्रा चौलागाइँ र मात्तिम–८ की रत्नकुमारी चाहारको १४ वर्षीय छोरा बबिन चाहारको ज्यान गएको र मात्तिम–९ की सन्तकला राईको ७ वर्षीय छोरा कृष्ण राई अपाङ्ग बनेको पिडितको आरोप छ । उनीहरुका अनुशार बालिका चौलागाइँकोे गत असार–१४ गते र चाहारको जेठ–२६ गते ज्यान गएको थियो ।
अहेव शाहले भने आफ्नो सरुवा गर्ने मनसाय बोकेका समुहले आफुमाथि झुटो आरोप लगाएको बताउनु भयो ।