
खोटाङ जेठ–१९, पछिल्लो समय देशबिदेशको यात्रा तय गर्दै दर्शकको मायाँ बटुलिरहेको नेपाली कथानक चलचित्र ‘यारी’ हेर्न काठमाण्डौंको गुण सिनेमा हलमा दर्शकको घुर्इंचो लागेको छ । देशका बिभिन्न स्थान तथा अमेरिका लगायतका देशहरुमा प्रर्दशन भईसकेको किराती संस्कृतिमा आधारित चलचित्र ‘यारी’ हेर्न शनिबार ग्वार्कोमा करिब सात सय दर्शकको लर्को लागेको हो ।

बीरबहादुर राई(युवराज)को निर्देशनमा पहाडी भेगका मनोरम स्थलहरुमा छायाँङकन गरिएको चलचित्र हेर्न प्रति ब्यक्ति एक हजार, पाँच सय र तीन सय रुपैंयाँ तिरेर सात सय बढीले हल प्रबेश गरेको आयोजक किराया ललितपुरले जनाएको छ ।
बिहान साँढे ६ बजे नै उल्लासमय ढंगले हल प्रबेश गरेको दर्शकले हल बाहिरिएपछि समेत चलचित्रको प्रशंसा गरेको चलचित्रको संगीतकार समेत रहनुभएको किरात राई साँस्कृतिक कलाकार संघको केन्द्रीय सदस्य पदम थुलुङ राईले जानकारी दिनुभयो । संकलित रकम भने सार्बजानिक गर्न बाँकी रहेको थुलुङ राईको भनाई छ ।
स्वयम निर्देशक युवराजकै कथा र छायाँङकन समेत रहेको चलचित्र यारीमा खोटाङ, भोजपुर, सोलु र संखुवासभाको संगम स्थलको रुपमा रहेको ऐतिहासिक सालपा पोखरी आसपास लगायतका मनोरम दृश्यहरु देख्न सकिन्छ । दक्षकुमार राईको प्रस्तुति यारीको निर्माता गणेश गिरी र प्रबिन राई तथा कार्यकारी निर्माता उर्मिला राई रहनुभएको छ ।
किराती संस्कार तथा संस्कृतिलाई जोड दिँदै समसामयिक बिषय उठान गरिएको चलचित्र यारीमा श्याम राई, कल्याण राई, निर्भिक राई, बिस्मिता राई, प्रबिण पुमा लगायतका कलाकारको जीवन्त अभिनय देख्न पाईन्छ ।
पहाडी भेगका मनमोहक र किराती ऐतिहासिक थातथलोलाई समेत उतारिएको चलचित्र यारीको लागि भुपाल राई र चन्द्र रानोहँछाले लेख्नुभएको गीतमा डक्टर किरात र पदम थुलुङ राईले संगीत गर्नुभएको छ ।
मेलिना राई, रुपकुमार राई, निश्चल राई, भिषण राई र सुनिता थेगिमको स्वर रहेको चलचित्रमा जनक राईले नृत्य निर्देशन गर्नुभएको छ ।
डिक बान्तवाको पटकथामा निर्मित चलचित्रलाई प्रबिण पुमाले अंग्रेजी अनुवाद गर्नुभएको छ ।
आगामी असार–१० गते हङकङमा बिशेष प्रर्दशनीको तयारी गरिएको यारी मलेसिया लगायतका देशहरुमा पनि प्रर्दशन गर्ने मिति तय भईसकेको छ । हङकङमा भने खोटाङमा स्थापित टेम्के तुवाचुङ प्रतिष्ठानले बार्षिक रुपमा प्रदान गर्दै आएको पुरस्कारका लागि अक्षय कोष बृद्दिको उदेश्यले उक्त चलचित्रको बिशेष प्रदर्शन गर्न लागिएको जनाईएको छ ।