साउन–१२, खोटाङमा पहिलोपल्ट मानव पिसाब संकलन घर निर्माण गरिएको छ । ‘कृषि उपजको वृद्धि कृषकको सान, पशु तथा मानवमुत्र संकलन हाम्रो अभियान’ भन्ने नारा सहित सदरमुकाम दिक्तेल–५ र ७ मा पिसाब संकलन घर निर्माण गरिएको हो ।
बाटोघाटोबाट आवत–जावत गर्ने बटुवाहरुको पिसाबलाई ड्रममा संकलन गरेर बालीनालीको बोटबिरुवामा उपयोग गर्ने उद्धेश्यले पिसाब संकलन घर निर्माण गरिएको स्थानीय कृषक टेकबहादुर मुग्रातीले बताउनुभयो । 
कृषि वन तथा वातावरण समिति दिक्तेलमार्फत दिगो भू–व्यवस्थापन कार्यक्रम एसएसएमीको आर्थिक तथा प्राविधिक सहयोगमा अल्छेढुंगा ताजा तरकारी कृषक समुह र अजम्बरी कृषक समुहले पिसाव संकलन घर निर्माण गरिएको जनाएको छ । 
सार्वजनिक स्थलमा बनाइएको पिसाब संकलन घरमा जडान गरिएको २ सय २० लिटरको ड्रममा जम्मा हुने पिसाबमा पानी मिसाएर प्रयोग शुरु गरिएको अल्छेढुंगा ताजा तरकारी कृषक समुहका सदस्य समेत रहेका मुग्रातीको भनाइ छ । संकलन घर नजिक जडान गरिएको ड्रममा जम्मा हुने पिसाबलाई सिधै पाईपमार्फत तरकारी वा खाद्यान्न बालीमा लगाउने व्यवस्था मिलाइएको छ । 
एक भाग पिसाबमा पाँच भाग पानी मिसाएर वा बिरुवाको अवस्था हेरेर पिसाब प्रयोग गर्न सकिने कृषि वन तथा वातावरण समिति दिक्तेलका सचिव एवं जेटीए गंगा विश्वकर्माले बताउनुभयो । रासायनिक मलको बढ्दो प्रयोगलाई न्युनिकरण गर्दै स्वच्छ र सफा फलफूल तथा तरकारी उत्पादनका लागि मानव मुत्र उर्पयुक्त हुने विश्वकर्माको भनाइ छ ।