खोटाङ जेठ–२०,  खोटाङका भूकम्प पीडित लाभग्राहीलाई निजी आवास पूर्ननिर्माण वापतको दोश्रो किस्ता प्रदान गर्न थालिएको छ ।  २०७२ साल जेठ १२ गतेको महाभूकम्प र पराकम्पनका कारण घर बिहिन बनेका लाभग्राहीले पहिलो किस्ता लिई आवास पुर्ननिर्माणको डिपिसी गर्ने काम पूरा गरेपछि दोश्रो किस्ता प्रदान गर्न थालिएको हो । 
हालसम्म डीपीसीको काम  सक्ने जिल्लाका ७९ लाभग्राहीले दोश्रो किस्ता वापतको रकम निकासा बुझ्न थालेका जनाईएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ७४ जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ५ लाभग्राहीको दोश्रो किस्ता निकासा भएको जिल्ला समन्वय समितिका आवास अनुदान फोकल पर्सन रबिकिरण आचार्यले बताउनुभयो ।
 दिप्रुङ चुईचुम्मा गाउँपालिकाका लाभग्राहीको दोश्रो किस्ता ज्योती बिकास बैंकमा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबासी लाभग्राहीको किस्ता बैंक अफ काठ्माण्डौंमा जम्मा भएको थियो । 
पहिलो किस्ता बुझेका खोटाङका ८ हजार १ सय ७३ लाभग्राहीमध्ये ७९ लाभग्राहीले दोश्रो किस्ता वापत १ लाख ५० हजारका दरले अनुदान बुझ्न थालेका हुन् ।