भदौ–९, पूर्वाञ्चल सिँचाइ सब–डिभिजन कार्यालय खोटाङका प्रमुख एकराज भट्टराईले आफुमाथि कुटपिट गर्ने युवा संघका कार्यकर्तालाई कारबाही गर्न माग गर्नुभएको छ । 
हप्ता दिनअघि कुटिनु भएका कार्यालय प्रमुख भट्टराईले आफुलाई कुटपिट गर्ने युवा संघ सम्बद्ध युवाहरुलाई कानूनी कारबाही गर्न प्रशासन समक्ष माग गर्नुभएको हो ।
आफूमाथि कुटपिट गर्ने समूहलाई स्वयं प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बिना कारबाही छुटकारा दिएको भन्दै भट्टराईले तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाउन माग गर्दै आइतबार प्रशासनमै उजुरी दिनुभएको छ । 
कुटपिटका घटनालाई प्रमुख जिल्ला अधिकारीले मिलापत्र गराएको भन्दै चौतर्फी बिरोध शुरु भएको हप्ता दिनपछि कार्यालय प्रमुख भट्टराईले लिखितरुपमै कारबाहीको माग गर्नुभएको हो । 
कुटपिटमा संलग्न युवाहरु खुलेआम हिँडिरहनुले कार्यालय तथा फिल्डको काम गर्न असहज भएको भन्दै दोषीलाई कारबाही तथा शान्तिसुरक्षाको प्रत्याभूति दिलाइनुपर्ने कार्यालय प्रमुख भट्टराईले दिनुभएको उजुरीमा उल्लेख छ । उजुरी जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगको उप–क्षेत्रीय कार्यालयमा समेत बोधार्थकारुपमा दिइएको छ । 
यसैबीच, त्रासका कारण खोटाङमै बसेर काम गर्न असहज भएको भन्दै कार्यालय प्रमुख भट्टराईले सिँचाई मन्त्रालय सिंहदरबार समक्ष जानकारी गराउनु भएको छ । 
सामान्य बिषयमा आफुलाई युवा संघका केन्द्रीय सदस्य दिलचक्र राईको समुहले भदौ–३ गते साँझ कुटपिट गरेको भट्टराईको भनाई छ । कुटपिट गर्ने समुहलाई कारबाही नभएको भन्दै जिल्लास्थित बिभिन्न ट्रेड युनियन कर्मचारी संगठन तथा राजनीतिक दलका भातृ संघसंगठनहरुले विरोध जनाइरहेका छन् ।