भदौ–२१, राष्ट्रिय मानव अधिकार आयोगले हिरासतमा रहेको अवस्थामा ज्यान गुमाएका खोटाङ पाथेका–२ का १८ वर्षीय किरण राई ‘भुदेउ’लाई यातना दिनमा संलग्न डिएसपीसहित ११ जनालाई कारकाही गर्न सरकार समक्ष सिफारिस गरेको छ ।
उपचारकाक्रममा गत असार २६ गते ज्यान गुमाएका भुदेउको प्रहरीको यातनाबाट मृत्यु भएको पूष्टि भएपछि आयोगले उनलाई यातना दिनमा संलग्न प्रहरी हवल्दार सुरेशप्रसाद यादव, प्रहरी जवानहरू नकुल राई, रामकुमार बोगटी, कैलाश खत्री, चन्द्र खड्का, देवराज माझी, नारायण खड्का, प्रहरी नायब निरीक्षकहरू महेन्द्र खत्री, मुकुन्दप्रसाद बिडारीलाई मुलुकी ऐन ज्यान सम्वन्धी महल बमोजिम कानुनी कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय समक्ष सिफारिस गरेको हो ।
आयोगले तत्कालिन प्रहरी नायव उपरीक्षक राजिब बस्नेत र प्रहरी निरीक्षक रमेशकुमार देवलाई पनि विभागीय कारबाही गर्न सिफारिस गरेको आयोगको उपक्षेत्रीय कार्यालय दिक्तेलका निमित्त प्रमुख लोकनाथ घिमिरेले जानकारी दिनु भयो ।
यस्तै, कुटपिट र यातनाबाट मृत्यू भएको भन्दै आयोगले मानव अधिकार आयोग ऐन २०६८ को दफा १६ को ३ अनुशार मृतक परिवारलाई तीन लाख क्षतीपूर्ती उपलव्ध गराउन सरकार समक्ष सिफारिस गरेको छ । उसले जिल्ला अस्पताल दिक्तेलका डाक्टर नवलकिशोर झालाई कुनै पनि बिरामीको उपचार र कानूनी जटिलताका बिषयबस्तुमा संबदेनशील हुन एबं मातहतका कर्मचारीले गरेको कामलाई सुरपरिबेक्षण गर्न सचेत गराउन, जिल्ला प्रहरी कार्यालय दिक्तेलको शौचालयको भौतिक संरचनामा सुधार गर्न एबं सुरक्षित स्थानमा सार्न पनि पत्राचार गरेको छ ।
फरेन्सिक बिशेषज्ञ डाक्टर हरि वस्ती, डाक्टर युवराज पोखरेल र डाक्टर नवलकिशोर झाको संलग्नतामा गरिएको पोष्टमार्टम रिपोर्टले थुनुवाको यातनाबाट मृत्यू भएको पुष्टि भएको आयोगले जनाएको छ । हत्याको आरोपमा गत जेठ २८ गते पक्राउ परेका ‘भुदेउ’को उपचारकाक्रममा असार २६ गते बिहान ११ बजे जिल्ला अस्पताल दिक्तेलमा मृत्यु भएको थियो । आयोगले ‘मल्टीपल ब्लनफोर्स इन्जुरी इन लोअर लिम्बस्’का कारण भुदेउको ज्यान गएको प्रतिबेदन सार्वजनिक गरेको छ ।
प्रहरीको कुटपिट र चरम यातनाबाट राईको ज्यान गएको भन्दै मृतकका आफन्तले राष्ट्रिय मानव अधिकार आयोगलाई छानबीनकालागि आग्रह गरेका थिए । आफन्तले राईको मृत्युलाई शंकास्पद मानेपछि जिल्ला बाहिरका चिकित्सक ल्याएर मानव अधिकारकर्मीको रोहबरमा चार दिनपछि शवको पोष्टमार्टम गरिएको थियो । जिल्ला अदालतले पुर्पक्षकालागि थुनामा राख्ने आदेश दिइएका राईको निमोनियका कारण ज्यान गएको प्रहरीले दावी गर्दै आएको छ भने हिरासतमा रहेको अवस्थामा आँखामा रगत जमेको, अनुहार र हातखुट्टा सुन्निएको, रगत छादेको र पिसावबाट रगत गएको देखिएका कारण प्रहरीको शारीरिक यातनाबाट राईको ज्यान गएको पीडितको दाबी थियो । राई प्रहरीको हिरासतबाट भाग्दै गरेको अवस्थामा पुःन बुइपाबाट पक्राउ परेका थिए । बुइपाबाट पक्राउ गरेर ल्याउनेक्रममा प्रहरीले राईलाई शारीरिक यातना दिएको, कारागार लैजानेक्रममा पनि यातना दिँदै लगेको प्रत्यक्षदर्शीले बताउँदै आएका छन् ।
कुटपिट र यातनाबाट ज्यान गएको थुनुवालाई प्रशासन र प्रहरीले निमोनियका कारण ज्यान गएको भन्दै ढाकछोप गर्न खोजेको मृतकका आफन्त रञ्जिव राईले बताउनु भयो । प्रहरीको यातनाबाट भुदेउको मृत्यु भएको भन्दै आफन्तले भदौ २ गते प्रहरी नायब उपरिक्षक बस्नेत तथा प्रहरी निरिक्षक देव बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । डिएसपी बस्नेत हाल सरुवा भइसकेका छन् ।