खेतमा घाँस काट्न गएको समयमा दुई सय मिटरमाथिबाट झरेको पहिरोले पुरिएर बेपत्ता बनेका दिक्तेल–३ की २७ वर्षीया कमला कार्की (आचार्य) को शव शुक्रबार बिहान फेला परेको हो ।
बिहिबार साँझ माक्पा–५ भदौरेमा गएको पहिरोमा छोरी कमलासँगै बेपत्ता भएका ६० वर्षीया आमा राजकुमारी कार्की अझै बेपत्ता छन् । ऐसेलुखर्कस्थित ईलाका प्रहरी कार्यालयका प्रहरी तथा जबरजङ गणको बेस क्याम्पबाट खटिएका नेपाली सेना र स्थानीबासीले खोजी गर्नेक्रममा पहिरोमा बेपत्ता कमलाको शव शुक्रबार बिहान ८ बजे फेला पारेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक दुर्गा रेग्मीले बताउनुभयो ।
करिब ३५ मिटर चौडाई भएको पहिरोमा बेपत्ताको खोजी गर्नेक्रममा शुक्रबार दिनभर पनि राजकुमारीको शव नभेटिएपछि प्रहरी र सेनाको टोली फर्किएका छन् । सदरमुकाम दिक्तेल–३ मा बिवाह गरेकी कमला तीज मनाउन माइती घर माक्पा जानु भएको थियो । मृतक कमलाको श्रीमान भने बैदेशिक रोजगारीमा कतारमा छन् । तीज मनाउन माईत गएकी कमला शुक्रबार आफ्नो घर दिक्तेल फर्कने तयारीमा रहेकी थिईन ।
पहिरोले स्थानीय चार कृषकहरुले लगाएको ८० मुरी धान फल्ने खेत समेत बगाएको छ । पहिरोले स्थानीय डम्बरबहादुर कार्की, मानबहादुर कार्की, मीनबहादुर गिरी र जगतबहादुर कार्कीको खेतमा लगाइएको धानबाली बगाएको इलाका प्रहरी कार्यालय ऐसेलुखर्कका प्रहरी निरीक्षक रमेश बस्नेतले बताउनुभयो ।
१८ वर्षअघि २०५२ सालमा सोही गाविसमा गएको भिषण पहिरोले ६३ जना बेपत्ता पारेका थिए भने, दर्जनौं घरबार बिहिन भएका थिए ।