भदौ–२८, एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य रामकुमार राई ‘पासाङ’ले द्धन्द्ध कालमा माओवादी कार्यकर्ताहरुको हत्यामा संलग्न व्यक्तिविरुद्ध मुद्दा हाल्ने चेतावनी दिनुभएको छ । 
हत्याको आरोपमा माओवादी कार्यकर्तालाई पक्राउ गरेको विरोधमा शुक्रबार जिल्ला प्रशासन कार्यालय खोटाङमा आयोजना गरिएको धर्ना कार्यक्रममा केन्द्रीय सदस्य राईले यस्तो चेतावनी दिनुभएको हो । 
द्धन्द्ध कालमा घटेका घट्नालाई कोट्याएर आफ्नो कार्यकर्ताहरुलाई पक्राउ गरिए माओवादी कार्यकर्ताहरुको हत्यामा संलग्नहरुलाई पनि बाँकी नराख्ने राईको भनाइ छ । पुर्वसभाषद समेत रहेका राईले द्धन्द्ध कालमा हत्या गरिएका खोटाङका ठूलकुमार श्रेष्ठ, दिलकाजी कार्की, ईन्दिरा कार्की लगायतका नेताहरुलाई हत्या गर्नमा संलग्न प्रशासक, सुरक्षाकर्मीहरुलाई पनि मुद्दा हाल्ने जानकारी दिनुभयो ।
‘हाम्रा कार्यकर्ताहरुको हत्या गर्न र बेपत्ता पार्नमा को–को संलग्न थिए भन्ने लिस्ट हामीसँग छ ।’ राईले भन्नुभयो–‘द्धन्द्धका घटनालाई कोट्याउने हो भने, हामी पनि हातमा दही जमाएर बस्दैनौं ।’ उहाँले द्धन्द्ध कालको घटनालाई उछालेर आफ्ना कार्यकर्ता धरपकड गर्न नछाडिए द्धन्द्ध कालमा मारिएका र बेपत्ता पारिएका परिवारलाई आन्दोलनमा उतार्ने चेतावनी दिनुभयो । 
गोरखाका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न रहेको भन्दै माओबादी कार्यकर्ता रामप्रसाद अधिकारीलाई पक्राउ गरिएकोमा विरोध गर्दै आएको माओवादीले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको हो । धर्ना कार्यक्रममा पुर्वसभाषद दुर्गाजयन्ती राई, समिता कार्की ‘अस्मिता’ लगायतका नेता तथा कार्यकताहरुको सहभागीता रहेको थियो । 
एकीकृत नेकपा माओवादीले एकैसाथ देशभरका जिल्ला प्रशासन कार्यालयहरुमा दुई घण्टा धर्ना दिएका छन् ।