असोज–३, आगामी संविधानसभाको चुनाव तथा चाडबाडलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङले जाँडरक्सी लगायतका मदिराजन्य पदार्थको बिक्रीबितरणमा कडाइ गरेको छ ।
एकैसाथ नजिकीदै गरेको संविधानसभाको दोश्रो निर्वाचन तथा दशैं र तिहारलाई मध्यनजर गर्दै प्रहरीले जिल्लामा मदिराजन्य पदार्थको बिक्रीबितरणमा कडाइ गरेको हो ।
दैनिक बेलुका ८ बजेपछि जिल्लाका होटल तथा पसलहरुमा जाँडरक्सी लगायतका मादक पदार्थको बिक्रीबितरणमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक दुर्गा रेग्मीले जानकारी दिनुभयो । सामुदायीक विकास सेवा केन्द्रसँगको सहकार्यमा प्रहरीले जिल्लामा जाँडरक्सी नियन्त्रण अभियान थालेको हो ।
चुनाव तथा चाडपर्वको आसपासमा हुन सक्ने सम्भावित हो–हल्ला र अशान्ति नियन्त्रणका लागि मादक पदार्थ विरुद्धको अभियान थालिएको प्रहरीले जनाएको छ । ‘बेलुकाको समयमा जाँडरक्सी बिक्रीबितरणमा रोक लगाएका छौँ,’ प्रहरी निरीक्षक रेग्मीले भन्नुभयो, ‘चुनाव र चाडपर्वलाई शान्तिपूर्ण बनाऔँ भन्ने हाम्रो लक्ष्य हो ।’
प्रहरीले चाडपर्वको समयमा हुन सक्ने सम्भावित सडक दुर्घटना कम गर्नका लागि जिल्लामा ट्राफिक व्यवस्थापनलाई थप चुस्त बनाउने तयारी गरेको छ । चाडपर्वका अवशरमा बढेको भीडभाडका कारण सडक दुर्घटनाको सम्भावना बढेको भन्दै प्रहरीले ट्राफिक व्यवस्थापनमा सतर्कता अपनाएको हो ।
ट्राफिक व्यवस्थापनकालागि ट्राफिक प्रहरीको टोली खटिने प्रहरी निरीक्षक रेग्मीले बताउनुभयो । ‘चाडपर्व नजिकीदै गर्दा सदरमुकाम र यसका आसपासका बजारमा सर्वसाधारणको भीडभाड बढ्न थालेको छ, जसका कारण सडक दुर्घटनाको सम्भावना बढेर गएको छ,’ प्रहरी निरीक्षक रेग्मीले भन्नुभयो, ‘त्यही कारण हामीले ट्राफिक व्यवस्थापनका बिषयमा उच्च सतर्कता अपनाउनुपर्ने अवस्था आएको हो ।’