खोटाङ, जेठ २७– खोटाङमा स्थानीय पाठ्यक्रम निर्माण एबं पठन–पाठनको तयारी गरिएको छ । भाषिक समुदायको बाहुल्यता रहेको क्षेत्रका विद्यालयमा स्थानीय पाठ्यक्रममा आधारित पठन–पाठनका लागि स्थानीय पाठ्यक्रम निर्माण पहल थालिएको हो । 
स्थानीय पाठ्याक्रम निर्माणको पुर्वतयारी स्वरुप आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परिषद खोटाङले शनिबार स्थानीय पाठ्याक्रमका विषयमा बहुभाषिक रोष्टर शिक्षकहरुसँग छलफल गरेको छ । दिक्तेलको संगमपार्कस्थित बिजय होटलमा भएको छलफलले जिल्लामा रहेका विभिन्न जातजातीको भाषाभाषी, संस्कृति र मौलिक प्रविधि लगायतलाई स्थानीय पाठ्याक्रमको विषयबस्तुकारुपमा समेट्ने निर्णय भएको आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परिषदका सदस्य रविन सुनुवारले बताउनुभयो । 
सुरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट स्थानीय पाठ्याक्रम कार्यान्वयन गर्ने लक्ष्यकासाथ काम सुरु गरिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट सुरु गरिने स्थानीय पाठ्याक्रमलाई क्रमशः अन्य नगरपालिका तथा गाउँपालिकामा बिस्तार गर्ने तयारी गरिएको छ । स्थानीय पाठ्याक्रम निर्माणका लागि आगामी असार १५ गतेभित्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा निर्वाचित पदाधिकारीसँग छलफल, बहस गरी कार्यान्वयनका चरणमा जाने निर्णय भएको महासंघले जनाएको छ ।