खोटाङ जेठ–२८, हरेक वडामा पत्रकार उत्पादन गर्ने उदेश्यका साथ खोटाङको रावाबेंसी गाउँपालिकामा आयोजना गरिएको तीन दिने आाधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा हलेसी न्युज नेटवर्क प्रालिले रावाबेंसी गाउँपालिका–१ कुभिण्डेमा सञ्चालन गरेको तालिम सम्पन्न भएको हो ।

यही जेठ–२५ देखि २७ गतेसम्म सञ्चालन भएको तालिममा हरेक वडाका ४ जना सहित पत्रकारितामा चासो दिने २५ जनालाई सहभागी गराईएको थियो । गाउँपालिकामा पत्रकार नभएकै कारण सूचना र सञ्चारको पहुँचबाट टाढा रहनु बाध्य भएको भन्दै पालिकाकै आग्रहमा तालिम सञ्चालन गरिएको हलेसी न्युज नेटवर्क प्रालिका अध्यक्ष हरिबोल आचार्यले बताउनुभयो । गाउँपालिकाले स्थानीय तहको रेडियो स्थापना गर्ने सोंच समेत बनाएको कारण सहभागीले चासोको साथ तालिममा सहभागिता जनाएको बताईएको छ ।

गाउँपालिकाको प्रमुख लिलानाथ निरौला, उपाध्यक्ष समला राई, प्रमुख प्रशासकीय अधिकृत प्रज्वल घिमिरे, राजनीतिकर्मी हरि पोखरेल, फटिककुमार श्रेष्ठ लगायत कार्यालय प्रमुखहरुको उपस्थितीमा एक नम्बर वडा कार्यालयमा उद्घाटन गरिएको तालिम वडाकै तालिम हलमा सञ्चालन गरिएको थियो ।

तालिमको सहजीकरण कान्तिपुर दैनिकका उपसम्पादक डम्बरसिं राई, पत्रकार महासंघ खोटाङका उपाध्यक्ष रामधन राई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघको केन्द्रीय सदस्य केदार मगर लगायतले गर्नुभएको थियो । 
गाउँपालिकालाई सशासनयुक्त बनाउनका लागि पहरेदारको रुपमा स्थापित गर्न पत्रकार उत्पादनमा चासो दिएको गाउँपालिकाको अध्यक्ष निरौलाको भनाई छ । गाउँपालिकामा दक्ष पत्रकार उत्पादन गर्न सोही सहभागीलाई आगामी बर्ष अझ उच्च तहको तालिमको ब्यवस्था गरी स्थानीय तहको सञ्चारमाध्यमहरुमा काम गर्न योग्य बनाउने उहाँले उल्लेख गर्नुभयो ।

औपचारिक कार्यक्रमकै साथ समापन गरिएको तालिममा सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको छ । तालिममा सिकेको ज्ञान तथा सीपलाई ब्यवहारतः लागु गर्न आफुहरु आतुर रहेको सहभागीले जनाएका छन् ।