मंसिर–८, संविधानसभाको दोश्रो निर्वाचनमा खोटाङको दुवै निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर–१ बाट पाँचकर्ण राई “पिके” र क्षेत्र नम्बर–२ बाट विशाल भट्टराई विजयी हुनुभएको हो । क्षेत्र नम्बर–१ मा आफ्नो निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका नरेशकुमार श्रेष्ठलाई ९८३ मतले पछि पार्दै “पिके” विजयी हुनुभएको हो भने, क्षेत्र नम्बर–२ का काग्रेसकै अर्का उम्मेदवार विष्णुकुमार राईलाई ४ हजार ९१५ मतले पछि पार्दै भट्टराई विजयी हुनुभएको छ ।
“पिके” ले १० हजार ८२४ मत र भट्टराईले १४ हजार ३७ मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत ईश्वरीप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार एमालेको निकटतम् प्रतिद्धन्दी काग्रेसको तर्फबाट क्षेत्र नम्बर–१ का उम्मेदवार नरेश श्रेष्ठले ९ हजार ८४१ र क्षेत्र नम्बर–२ का उम्मेदवार राईले ९ हजार १२२ मत प्राप्त गर्नुभएको छ ।
मूख्य निर्वाचन अधिकृतको कार्यालयमा औपचारिक कार्यक्रम गरी विजयी उम्मेदवारहरुलाई संबिधानसभाको सदस्यको प्रमाणपत्र प्रदान गरिएको छ । कूल ९९ हजार ६ सय ६२ मतदाता रहेको जिल्लामा यसपटक एमालेले विगतको इतिहासलाई पुर्नःस्थापित गरेको छ ।
अघिल्लो संविधानसभाको निर्वाचनमा दुवै क्षेत्रमा पराजय भोगेको पार्टीले यसपटकको निर्वाचनमा सफलता प्राप्त गरेको छ । अघिल्लो संविधानसभामा दुवै क्षेत्र जितेको एकीकृत नेकपा माओवादी यसपल्ट तेश्रो स्थानमा झरेको छ ।
एकीकृत नेकपा माओवादीका तर्फबाट क्षेत्र नम्बर–१ का उम्मेदवार दुर्गाजयन्ती राईले ७ हजार ५०१ र क्षेत्र नम्बर २ का उम्मेदवार देवान किराती “पृथ्वी”ले ६१५४ मत प्राप्त गर्नुभएको छ ।
२०६४ सालमा भएको संविधानसभाको निर्वाचन तथा २०५६ सालमा भएको संसदीय निर्वाचनमा दुवै क्षेत्रमा पराजय भोगेको एमालेले संगठन सुदृढीकरणको अभियान सञ्चानलन गर्दै आफ्नो पार्टीलाई विजयी बनाएको एमाले जिल्ला सचिव राजन राईले बताउनुभयो ।
क्षेत्र नम्बर–१ का पाँचकर्ण राई “पिके” लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय कार्यकर्ता हुनुहुन्छ भने, एमालेको विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश गर्नुभएका भट्टराईले जिल्ला पार्टीको उपसचिव, सचिव हुदै जिल्ला अध्यक्षको पदमा रहेर काम गर्दै आउनुभएको थियो । यस्तै, संघीय समाजबादी पार्टी क्षेत्र नम्बर–१ का उम्मेदवार देवराज राईले २ हजार २६३, नेकपा मालेका बइन्द्र केशीले १ हजार २, नेपाल कम्यूनिष्ट पार्टीका प्रतिमान राईले ६०२, राष्ट्रिय प्रजातन्त्र पार्टीका धर्मराज पोखरेलले ५६८, खम्बुवान राष्ट्रिय मोर्चाका भूपी राईले २७९, राप्रपा नेपालका जगदीश राजभण्डारीले १९२, खस समाबेसी राष्ट्रिय पार्टीका कर्णबहादुर कार्कीले १३२ र शान्ति पार्टी नेपालका भोजराज अधिकारीले १०४ मत प्राप्त गर्नुभएको छ भने, क्षेत्र नम्बर–२ बाट संघीय समाजवादी पार्टीका सनबहादुर राईले १ हजार ७०५, नेकपा मालेका ताराकुमार खड्काले ७९२, राप्रपाकी कृष्णकुमारी राईले ४७३, नेपाल कम्यूनिष्ट पार्टीका कुलप्रसाद शर्मा फुयाँलले ३३७, खम्बुवान राष्ट्रिय मोर्चाका दिलकुमार राईले २३६, स्वतन्त्र उम्मेदवार बिष्णुराज राईले १७५, खस समाबेशी राष्ट्रिय पार्टीका गोबिन्द थापाले १५२, राप्रपा नेपालका रमेशकुमार केशीले १०६ र संयुक्त जनमोर्चाका पूर्णबहादुर राईले ३४ मत प्राप्त गर्नु भएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लामा १२ दलका २४ जना उम्मेदवारले प्रत्यक्षमा आफ्नो उम्मेदवारी दिएका थिए ।