मंसिर–१९, खोटाङमा दुई दिनदेखि विद्यूत अवरुद्ध हुँदा उपभोक्ता मर्कामा परेका छन् । मंगलबार बिहानदेखि अवरुद्ध विद्यूत सुचारु नहुँदा उपभोक्ता मर्कामा परेका हुन् । विद्यूत अवरुद्ध भएसँगै जिल्लामा अन्धकार छाएको छ । यसको प्रत्यक्ष प्रभाव सञ्चार माध्यम, उद्योगी तथा व्यापारी, सर्वसाधारण उपभोक्तलगायमा परेको छ । 
सरकारी कामकाजका लागि गाउँगाउँबाट सदरमुकाम दिक्तेल आएका सर्वसाधारण चर्को मूल्य तिरेर फोटो खिचाउनुका साथै फोटोकपी गर्न बाध्य भएका छन् भने, जिल्लामा सञ्चालित मोवाईल सेवा समेत अवरुद्ध भएको छ ।
मोवाईल सेवा अवरुद्ध भएपछि जिल्ला सञ्चार बिहिन भएको छ । केहीले घण्टाको २० रुपैयाँ तिरेर जेनेरेटरमार्फत मोवाईल चार्ज गराउने गरेका छन् । 
यस्तै, विद्यूत सेवा हुँदा ५० रुपैयाँमा खिच्ने फोटो विद्यूत अवरुद्ध भएसँगै एक सय रुपैयाँमा खिच्ने गरेका छन् । यसको सबैभन्दा ठूलो मार सर्वसाधारणमा परेको छ ।
पटक–पटक अवरुद्ध हुँदै आएको विद्यूत कहाँ फल्ट भएको भन्ने अझै पत्ता लाग्न नसकेको प्राधिकरणले जनाएको छ । उसका अनुसार सम्भावित ठाँउहरुमा प्राविधिक खटाइएको छ ।