खोटाङ ३१ जेठ । सरकारले जिल्लाका सबै एनजिओ तथा आइएनजिओलाई संस्था नविकरण गर्दा कार्यसमिति सदस्यहरुको काम र सम्पत्ति विवरण अनिवार्य बुझाउनुपर्ने गरी सूचना जारी गरेको छ ।
गृहमन्त्रीको रामबहादुर थापाको अध्यक्षतामा जेठ २४ गते बसेको बैठकले गरेको निर्णय अनुसार खोटाङका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले एनजिओ तथा आएनजिओका नाममा सूचना जारी गरेका छन् ।
सूचनामा ३ वर्ष नविकरण नभएका संस्थालाई नविकरणका लागि १५ दिन समय थप गर्ने र नविकरण नगरिए दर्ता खोरजी प्रक्रिया अघि बढ्ने उल्लेख छ ।
यस्तै, अब त्यस्ता संघ संस्थाले चौमासिक रुपमा प्रतिवेदन पेश गर्नुपर्ने छ, प्रतिवेदन नबुझाए संस्था नविकरण नहुने पनि सूचनामा उल्लेख छ ।
यस्तै, अब एक संस्थाले एक भन्दा बढी क्षेत्रमा काम गर्न नपाउने भएका छन् । यसअघि दर्ता भईसकेका संस्थाले पनि नविकरण गर्दा एक मात्र उद्देश्य राखेर संशोधन गरेर मात्र संस्था नविकरण हुने सरकारले निर्णय गरेको छ ।