खोटाङ जेठ–३१,  समाचार संकलन गर्ने क्रममा रहेका पत्रकारमाथि आक्रमण गर्ने प्रहरीलाई कार्बाही गर्न माग गरिएको छ । विपी राजमार्गको सिन्धुली खुर्कोट सडकमा रामेछाप उद्योग वाणिज्य संघले गरिरहेको आन्दोलनको समाचार संकलन गर्ने क्रममा रहेका पत्रकारद्वय यूनिक विफा घिसिङ र नवराज पथिकमाथि आक्रमण तथा दुव्र्यवहार गर्ने प्रहरीलाई कार्बाही गर्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिजले) माग गरेको हो ।
बुधबार साँझ समाचार संकलनका लागि गएका नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का संघीय महाधिवेशन प्रतिनिधि घिसिङ र रामेछापका पत्रकार पथिकमाथि भएको प्रहरीको आक्रमण तथा दुव्र्यवहारप्रति महासंघको आपत्ति रहेको बिज्ञप्ती जारी गर्दै पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन माग गरिएको छ । 
सिन्धुली–खुर्कोट सडकमा ‘ठूला र मालबहाक सवारी चल्न पाउनुर्छ’ भनेर उद्योग वाणिज्य संघले गरेको आन्दोलनको रिपोर्टिङको क्रममा प्रहरी आक्रमणमा परेका पत्रकार घिसिङ र पथिक राती ९ बजे तामाकोशी सहकारी अस्पतालमा भर्ना हुनु भई विहान १ बजे डिस्चार्ज भएका छन् । 
निर्वाध रुपमा समाचार संकलन, छायाङ्कन तथा प्रकाशन प्रशारण गर्न पाउनुपर्ने पत्रकारको स्वतन्त्रतालाई हनन् गर्दै प्रहरीले गरेको आक्रमण तथा दुव्र्यवहारले फोनिज केन्द्रीय कमिटी अत्यन्त गम्भीर भएको बिज्ञप्तीमा उल्लेख छ । सुरक्षा दिने निकायबाटै घटना पत्रकारमाथि कुटपिट हुँदा पत्रकार सुरक्षामाथि प्रश्न उब्जिएको भन्दै घटनाका सत्यतथ्य छानवीन गरी दोषीमाथि कारबाही गर्न र पत्रकार सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरिएको छ । 
बिहिबार जारी गरिएको बिज्ञप्तीमा फोनिज केन्द्रीय महासचिब मनोज घर्ती मगरले हस्ताक्षर गर्नुभएको छ ।