पुस–१२, खोटाङको दिक्तेलस्थित नेपाली सेनाको रासन ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न निकायमा उजुरी परेको छ । जबरजंग गण मुडे ब्यारेकको रासन ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंलगायतमा उजुरी परेको हो ।
गत मंसिर २१ गते भएको रासन ठेक्कामा सबैभन्दा कम मूल्यमा ठेक्का पारेको न्यू किरात सप्लायर्सले प्रकृया पूरा नगरी ठेक्का पारेको भन्दै ठेक्कामा सहभागी कुन्सालिङ कन्ट्रक्सन प्रालिका प्रतिनिधि निमा शेर्पाले अख्तियारमा उजुरी दिनुभएको हो । फर्मको कागजात तथा रासन नमूना टेण्डर फर्म निर्देशिका अनुसार नभएको, कतिपय आइटममा दिनै नसकिने रेट भरेको लगायतका त्रुटी देखिएका कारण अख्तियारमा उजुरी दिइएको रासन ठेक्कामा सहभागी कुन्सालिङ कन्ट्रक्सन प्रालिमा सम्बद्ध निमा शेर्पाले बताउनुभयो ।
फर्मको बैंक ग्यारेन्टीमा जारी मिति एक वर्ष पछाडिको भएको, बैंक ग्यारेन्टी नेपालीमा नभइ अंग्रेजीमा लेखिएको, टेण्डर फर्ममा टिकट नटाँसिएको, कर चुक्ताको कागजात शंकास्पद देखिएको लगायतका त्रुटी भेटिएका कारण छानबिनकालागि उजुरी दिइएको शेर्पाको भनाइ छ । ठेक्का खोल्ने बेला न्यू किरात सप्लायर्सका प्रतिनिधि उपिन राई र कुमारप्रसाद आचार्यबाहेक अन्यलाई समयमा भित्र प्रवेश गर्न नदिएको, रासन वोर्डका अध्यक्ष महेश्वर थापाले गालीगलौज गरेको लगायतका क्रियाकलापले ठेक्का प्रक्रिया शंकास्पद बनेको उहाँको दावी छ ।
आयोगमा हालिएको उजुरीको वोधार्थ जिल्ला प्रशासन कार्यालयमा समेत परेको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताउनुभयो । उहाँले भन्नुभयो– ‘यसका बारेमा सम्बन्धित निकायमा गएर उजुरी गर्न भनेको छु ।’
यसैबीच, अघिल्लो वर्ष सेनालाई रासन खुवाउने ठेक्का पाएको शेर्पाले आफ्नो दाउरा वापतको २ लाख ९२ हजार ५ सय, गणपति रामबहादुर थापाले विभिन्न समयमा सापटी लिएको रकमगरी २६ लाख ९२ हजार ५ सय रुपैयाँ रकम हालसम्म नपाएको भन्दै अख्तियारमै उजुरी दिएका छन् । गाणपति थापाले भने, शेर्पालाई कुनै रकम दिनुपर्ने नभएको बताउनुभयो । यता, शेर्पाले बैंकको चेक नम्बर तथा रकम लिएको मितिसमेत उजुरीमा उल्लेख गरेका छन् ।