पुस–१४, खोटाङ जिल्लाका ११ दलहरुमध्ये ८ दलले अझै पनि निर्वाचन खर्चको विवरण बुझाएका छ्रैनन् । गत मंसिर–४ गते भएको संविधानसभाको दोश्रो निर्वाचनमा सहभागी जिल्लाका ११ दलहरुमध्ये नेपाली कांग्रेस, नेकपा माले र नेपाल कम्यूनिष्ट पार्टीबाहेक अन्य दलहरुले निर्वाचन खर्चको विवरण नबुझाएको जिल्ला निर्वाचन अधिकारी श्रीकुमार राईले बताउनुभयो । 
जिल्लास्थित नेकपा एमाले, एकीकृत नेकपा माओवादी, संघीय समाजवादी पार्टी, राप्रपा नेपाल, राप्रपा, खम्बूवान राष्ट्रिय मोर्चा, खस समाबेसी राष्ट्रिय पार्टी र संयुक्त जनमोर्चाले अझै निर्वाचन खर्चको विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 
निर्वाचन खर्च पेश गर्नकालागि तोकिएको अवधि सकिएको ४ दिन बितीसक्दा समेत ८ दलले खर्चको बिवरण पेश नगरेको राईले जानकारी दिनुभयो । निर्वाचनमा सहभागी दलहरुले निर्वाचन भएको मितिले ३५ दिनभित्र आफ्नो निर्वाचन खर्चको बिवरण जिल्ला निर्वाचन कार्यालय समक्ष पेश गर्नुपर्छ । उनीहरुलाई पुस–९ गतेभित्रै खर्चको बिवरण पेश गरिसक्न निर्वाचन आयोगको समयसीमा थियो । 
कार्यालयका अनुसार कांग्रेसले क्षेत्र नम्बर–१ मा ७ लाख ६६ हजार र क्षेत्र नम्बर–२ मा ४ लाख ५० हजार खर्च भएको विबरण पेश गरेको छ । यस्तै, नेपाल कम्यूनिष्ट पार्टीले क्षेत्र नम्बर–१ मा १ लाख ५५ हजार र क्षेत्र नम्बर–२ मा १ लाख ४२ हजार तथा नेकपा मालेले क्षेत्र नम्बर–१ मा १ लाख १३ हजार र क्षेत्र नम्बर–२ मा १ लाख ६३ हजार खर्च भएको विबरण पेश गरेको कार्यालयले जनाएको छ । 
नेकपा मालेले पुस–४ गते तथा कांग्रेस र नेपाल कम्यूनिष्ट पार्टीले पुस–७ गते खर्चको बिवरण बुझाएका हुन् ।