पुस–१९, खोटाङमा पहिलोपल्ट बसपार्क निर्माणको काम शुरु भएको छ । जिल्ला विकास समितिको एसबिएलएल कार्यक्रम अन्तरगत २० लाख अनुदान तथा उपभोक्ता समितिको २ लाख २२ हजार ४ सय २४ को लगानीमा सदरमुकाम दिक्तेल–५ सोल्मामा बसपार्क निर्माणको काम थालिएको हो ।
स्थानीय जग्गादाताहरुले निशुल्क दिएको २० रोपनी जग्गामा बुधबारदेखि जिल्लाकै पहिलो बसपार्क निर्माणको काम थालिएको निर्माण उपभोक्ता समितिले जनाएको छ । आगामी चैत्रसम्ममा सम्झौता अनुसार पहिलो चरणको काम पूरा गर्नेगरी बसपार्क निर्माणको काम थालिएको खोटाङ बसपार्क उपभोक्ता समितिका अध्यक्ष नारदकुमार राईले बताउनुभयो ।
पहिलो चरणको काम अन्तर्गत बसपार्क क्षेत्रमा जाने ट्र्याक खोल्ने काम शुरु गरिएको छ । ३ मिटर फराकिलो ट्र्याक निर्माणका लागि फाउण्डेशन बनाएर जाली भर्ने काम भइरहेको उपभोक्ता समितिले जनाएको छ । ट्र्याक खोल्ने काम पूरा भए लगत्तै बसपार्क सम्याउने काम थालिने समितिका सहसचिव गंगा विश्वकर्माले बताउनुभयो ।
२२ लाखबाट बसपार्क निर्माणको काम थालिए पनि कूल लागत तथा लाग्ने समय यकिन नभएको उपभोक्ता समितिको भनाइ छ । १०÷१० जनाको ५ समुहका कामदारले बसपार्क निर्माणको काम शुरु गरेका हुन् ।
विकाससँगै ग्रामिण क्षेत्रका सर्वसाधारणलाई रोजगारीको अवसर दिलाउने उद्देश्यकासाथ कुटो, कोदालो, ह्याम्मर, गैंती लगायतका घरेलु औजारको प्रयोग गरी काम थालिएको सह–सचिव विश्वकर्माले बताउनुभयो । २०६४ सालदेखि यातायात सेवा शुरु भएको खोटाङमा बसपार्क नहुँदा सदरमुकाम दिक्तेलको रत्नपार्कस्थित जिरोप्वइन्ट, पुरानो वेस क्याम्पलगायतका सडक क्षेत्रमै सवारी साधन पार्किङ गरिँदै आएको छ ।
पार्किङ गर्ने ठाँउ नहुँदा सर्वसाधारणलाई आवत–जावतमा समेत समस्या भइरहेका छन् । बसपार्क निर्माणका लागि स्थानीय जग्गादाताहरुले सदरमुकाम दिक्तेल आसपासका दुई स्थानमा ३५ रोपनीभन्दा बढी जग्गा निःशुल्क दिएका छन् ।
स्थानीयवासीले गत साउन–८ गते सदरमुकाम दिक्तेल–५ सोल्माको २० रोपनी र दिक्तेल–४ आचार्य गाउँको १५ रोपनी जग्गा बसपार्ककालागि निःशुल्क पास गरिदिएका थिए । बसपार्क निर्माणकालागि जिल्ला विकास समितिले निःशुल्क जग्गा आव्हान गरेको थियो ।
बसपार्क बनाउनकालागि पहल थालिएको दुई वर्षपछि गत असारमा बसपार्क निर्माण गर्ने स्थानको टुंगो लागेको थियो । सोल्मामा निर्माण गरिने बसपार्ककालागि स्थानीय रत्नबहादुर राईले ९ रोपनी ४ आना, टेकबहादुर राईले २ रोपनी ३ आना, सुर्य राईले २ रोपनी १२ आना, बिजय राईले १ रोपनी ८ आना, धर्मशुर राईले १४ आना, मदन राईले ११ आना र रत्न राईले ८ आना जग्गा दिनु भएको छ ।
यस्तै, आचार्य गाउँमा निर्माण हुने बसपार्ककालागि सोमप्रसाद आचार्यले ४ रोपनी, अबिनारायण आचार्यले ३ रोपनी, गणेश आचार्यले साँढे २ रोपनी, पर्शुराम आचार्यले २ रोपनी, देबीप्रसाद आचार्यले डेढ रोपनी, गोपाल आचार्यले १ रोपनी तथा गोमा विश्वकर्मा र भवकृष्ण आचार्यले आधा–आधा रोपनी जग्गा दिएको स्थानीय गोपालचन्द्र आचार्यले जानकारी दिनु भयो । आचार्य गाउँको बसपार्क बनाउनकालागि पनि उपभोक्ता समिति गठन भइसकेको छ ।