खोटाङ असार–२, मगर समुदायको महान तथा पवित्र चाड भुमे (भुम्या) पर्व शुरु भएको छ । भूमीको पूजा अर्चनापछि आपसमा शुभकामना आदान–प्रदान गर्दै हप्ता दिनसम्म मनाइने यो पर्व शुक्रबारबाट शुरु भएको हो । 
प्रकृति प्रकोप नपरोस, अन्नबाली सप्रियोस, सुव्यफाव्य होस भन्ने कामनासहित मनाइने भूमे (भुम्या) पर्व शुक्रबार गृहमन्त्री रामबहादुर थापा (बादल)ले काठमाडौंस्थित खुल्ला मञ्चमा औपचारिक उद्घाटन गर्नुभयो । आफन्तजनसँगको भेटघाट तथा शुभकामना आदानप्रदान गर्दै मनाइने यो पर्व हरेक मगर बस्तीमा मनाउने प्रचलन छ । 
भूमे पर्वको अवसरमा अहिले मौलिक बाजाको तालसँगै मौलिक पहिरनमा सजिएका मगर युवायुवती तथा वृद्धवृद्धा भूमे नाच नाचीरहेका छन् । बाइस ताल, बाइस चालमा नाचिने यो नाच गोलो घेर बनाएर नाच्ने गरिन्छ । 
मानव सभ्यताको पहिचान झल्काउने गरी प्रदर्शन गरिने यो नाच पछिल्लो समय लोप हुँदै गएको मगर पुर्खाहरु बताउछन् । आफ्नो संस्कार संस्कृतिको संरक्षण गर्दै आपसमा शुभकामना आदानप्रदान गरिने यो पर्व नेपालसहित हङ्कङ, बेलायत, सिङ्गापुर लगायत मगर बस्ती रहेको देशमा मनाउने गरिन्छ । 
प्राचिन कालमा मगरले सञ्चालन गरेको राज्यसत्ता आपसमा हस्तान्तरण गर्दा स्वागत तथा बिदाई समारोहमा समेत भूमे नाच नाच्ने गरिएको मगर पुर्खाहरु बताउँछन् । वर्षमा एक पटक मनाइने यो पर्वको अवसरमा अहिले मगर बस्ती तथा आसपासका खुल्ला चउरहरु भूमे नाच तथा गीतमा गुञ्जीरहेको छ । 
मगर समुदायको विशेष पर्व भूमेको अवसरमा शुक्रबार काठमाडौंस्थित खुल्ला मञ्चमा हजारौं मगर तथा गैंर मगर समुदायको उपस्थिती रहेको थियो । हरेक मगर बस्तीमा भूमीको पूजा गरेर हप्ता दिनसम्म मनाइने भुम्या पर्व शनिबार पनि खुल्ला मञ्चमा जारी रहने आयोजकले जनाएको छ ।
नेपालसहित मगर समुदाय बसोबास गर्ने विभिन्न देशमा मनाइने यो पर्वलाई राज्यले विशेष प्रथामिकतामा राख्नुपर्ने नेपाल मगर संघका अध्यक्ष नविन रोकामगरले बताउनुभयो । “हामी समानता चाहन्छौं । एकअर्काको परम्परालाई सम्मान गर्छौं ।” उहाँले भन्नुभयो, “तर मगर समुदायको यो भुमे पर्वलाई राज्यले बेवास्ता गरेको छ । आगामी दिनमा यस पर्वलाई पनि अन्य चाड पर्व जत्तिकै प्राथमिकता दिनुपर्छ ।”
शुक्रबार खुल्ला मञ्चमा आयोजना गरिएको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री बादलले देशमा प्राप्त उपलब्धीको हरेक हिस्सामा मगर समुदायको प्रमुख भूमिका रहेको उल्लेख गर्नुभयो । “देशमा जति पनि उपलब्धीहरु छन् । त्यसमा मगर समुदायको प्रत्यक्ष सहभागिता छ ।” उहाँले भन्नुभयो । 
गृहमन्त्री बादलको प्रमुख आतिथ्यतामा उद्घाटन भएको भुम्या पर्वको औपचारिक कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाइँमन्त्री वर्षमान पुन (अनन्त), खानेपानीमन्त्री वीणा मगर, पूर्व सभामुख ओनसरी घर्तीमगर लगायतले सम्बोधन गर्नुभएको थियो ।