माघ–१२, उदयपुर र ओखलढुङगाको सिमानामा पर्ने घुर्मीस्थित सुनकोशी नदीमा अस्थायी बेलिब्रिज सञ्चालनमा आएको छ । ओखलढुंगा, खोटाङ र सोलुखुम्बु जिल्लाको प्रमुख व्यापारिक नाकाकारुपमा रहेको घुर्मीस्थित सुनकोशी नदीमा जडान गरिएको बेलिब्रिज सञ्चालनमा आएको हो ।
जडानका क्रममा गत पुस १३ गते भाँचिएर नदीमा खसेको बेलिब्रिज पुनः मर्मत पछि सञ्चालनमा ल्याइएको सडक बिभागका इन्जिनियर बिष्णु काफ्ले बताउनुभयो । उषा निर्माण सेवाले गत मंसिर–९ गतेदेखि जडानका काम थालेको बेलिब्रीज जडान भइनसक्दै नट बोल्ट खुस्किएर नदीमा खसेको थियो ।
नेपाल सरकारको सडक विभाग अन्तरगत हर्कपुर–ओखलढुगा सडक योजनाको आर्थिक लगानीमा जडान गरिएको बेलिब्रिज गत पुस–१५ गते उद्घाटनको तयारी गरिएको थियो । अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि ओखलढुंगा र सोलुखुम्बुमा निर्वाधरुपमा दैनिक उपभोग्यबस्तु ओसार–पसार गर्न सहज भएको छ ।
ओखलढुंगा र खोटाङको सीमास्थित दूधकोसी नदीको बेलिब्रिज भने अझै जडान भइसकेको छैन । जयरामको बेलिब्रिज पनि केही समयपछि सञ्चालनमा आउने इन्जिनियर काफ्लेले जानकारी दिनुभयो ।