माघ–२६, नेपाली काग्रेस खोटाङमा मच्चिएको भाँडभैलो उत्कर्षमा पुगेको छ । कारबाहीमा परेका र जिल्ला सभापतिको कार्य शैलीप्रति असन्तुष्ट बनेका कार्यकर्ताहरु आ–आफ्नो गुठ बनाएर सभापतिमाथि खनिएपछि मच्चिएको भाँडभैलो उत्कर्षमा पुगेको हो । 
संविधानसभाको दोश्रो निर्वाचनमा आफ्नो पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै जिल्ला कार्य समितिले २० जना नेता कार्यकर्तालाई कारबाही गरेसँगै पार्टीमा विवाद सुरु भएको नेताहरुले बताएका छन् । संविधानसभाको निर्वाचनमा क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिनुभएका जिल्ला सभापति विष्णुकुमार राईको विरुद्ध बागी उम्मेदवार बनेका क्षेत्रीय सभापतिलाई साधारण सदस्य समेत नरहनेगरि हटाउनुका साथै अन्य १९ जना नेता तथा कार्यकर्तालाई काग्रेसले कारबाही गरेको थियो ।  
क्षेत्रीय सभापति हटाइएसँगै रिक्त पदमा जिल्ला सभापति राईले एकल रूपमा तीर्थ भट्टराईलाई विधान विपरित मनोनयन गरेपछि झनै विवाद भएको छ । पार्टीको विधान बिपरीत क्षेत्रीय सभापति चयन गरिएको बिरोधमा जिल्ला कार्य समितिका अन्य पदाधिकारीहरुले आलोचना गरिरहेको अवस्थामा शुक्रबार क्षेत्र नम्बर–१ अन्तरगत अर्खौलेमा आयोजना गरिएको क्षेत्रीय भेला समेत प्रभावित भएको छ । ३९ गाविसका नेता तथा कार्यकर्ता सहभागी गराउनेगरि बोलाइएको क्षेत्रीय भेला उत्घाटनै नभइ स्थगित भएको सहभागीहरुले बताएका छन् । 
जिल्ला सभापति राईका अनुसार कारबाहीमा परेका पूर्व राज्यमन्त्री सर्वधन राई र पूर्व महासमिति सदस्य सुवासकुमार पोखरेलको नेतृत्वमा आएका अराजक व्यक्तिहरुले आक्रमण गर्ने प्रयास गरेपछि भेला स्थगित भएको बताउनुभयो । उहाँले भन्नुभयो, –‘भेला उद्घाटन गर्ने तयारीमा लागेका थियौं, उनीले आक्रमण गर्ने प्रयास गरेपछि एक्कासी स्थगित गरेका हौं ।’
यसअघि जिल्ला सभापतिको कार्यशैलीप्रति असहमती जनाउँदै जिल्ला सदस्य एवं संगठन विभाग प्रमुख भूपेन्द्र राईले पदबाट राजीनामा दिएका छन् । क्षेत्र नम्बर–२ रिक्त पदमा विधि र विधान बिपरित पदाधिकारी चयन गरिएका कारण राजीनामा दिएको जिल्ला सदस्य राईले बताउनुभएको छ । जिल्ला सभापति बिष्णुकुमार राईले पार्टीको विधि र विधानलाई लत्याउँदै तिर्थ भट्टराईलाई क्षेत्रीय सभापतिकारुपमा चयन गरेको जिल्ला सदस्य राईको आरोप छ ।
क्षेत्रीय समितिको बैठकले ६ महिनाका लागि कार्यबाहक सभापति चयन गर्न सक्ने वा जिल्ला कार्य समितिमार्फत बोलाइने क्षेत्रीय अधिबेशनले मात्र क्षेत्रीय सभापति चयन गर्न सक्ने उहाँको तर्क छ । पार्टीको विधि र विधानका पक्षमा लड्नकालागि पदबाट राजीनामा दिइएको राईले बताउनुभयो । 
पार्टीको केन्द्रीय निर्वाचन समितिले जिल्ला कार्य समितिलाई बैठक बस्न र क्षेत्रीय अधिबेशन बोलाएर र पद पुर्तिका लागि माघ ३ गते दिएको ठाडो निर्देशनलाई सभापतिले ठाडो उल्लंघन गरेको राईको भनाइ छ ।