माघ–२९, विद्यालयको भौतिक सुधार कार्यक्रम अन्तरगत चार कोठे र दुई कोठे भवन वितरण कार्यदलले अपारदर्शी ढङ्गबाट काम गरेको भन्दै खोटाङका नौं राजनीतिक दल विरोधमा उत्रिएका छन् । जिल्ला शिक्षा अधिकारी निर्मलकुमार घिमिरे नेतृत्वको कार्य दलले एमालेको इशारामा अपारदर्शी तरिकाले शिक्षा कार्यालय मार्फत वितरण गरिने भवन वितरण गरेको भन्दै एमाले बाहेकका नौं राजनीतिक दलले विरोध जनाएका हुन् ।
एक महिनाअघि शिक्षा कार्यालयले जिल्लास्थित राजनीतिक दललाई विद्यालय भवन वितरण गर्न जिम्मा लगाएको र सोही अनुसार वितरण गरी शिक्षा कार्यालयलाई जिम्मा दिएपनि एमालेको इशारामा अपारदर्शी तवरले वितरण गरेपछि विरोध जनाइएको कांग्रेस जिल्ला सभापति विष्णुकुमार राईले बताउनुभयो । उहाँले भन्नुभयो- ‘शिक्षा कार्यालयले पुनः एमालेसँगको विवाद बल्झायो, शिक्षाकै कारण एमाले नेतृत्वको शान्ति समिति स्वीकार्दैनौं ।’ उहाँले थप्नुभयो- ‘एमालेले जितको उन्माद् देखायो, त्यही कारण उसको नेतृत्वको शान्ति समिति हामीलाई स्वीकार्य छैन ।’
नेपाली कांग्रेस, एकीकृत नेकपा माओवादी, राप्रपा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले, संघीय समाजवादी, नेकपा–माओवादी र नेपाल कम्युनिष्ट पार्टीले विरोध जनाएका छन् । राईका अनुसार शिक्षाले भवन वितरण गर्ने जिम्मा दिएपछि जिल्लास्थित राजनीतिक दलहरूको पुस ३ गते भएको सर्वदलीय बैठकमा एमालेले प्रस्ताव गरेको अर्खौलेस्थित सरस्वती उच्च माविलाई भवन नपर्ने भएपछि एमालेले बैठक छोडेको थियो ।
दलले ९ वटा चार कोठे भवन, ४२ वटा दुई कोठे भवन, ठूला योजना ६, साना योजना ४१, शौचालय ३१, बाह्य वातावरणको योजना ४४ विद्यालयलाई वितरण गरेर शिक्षालाई बुझाएको थियो ।