फागुन–२, स्थानीय शान्ति समिति खोटाङले खरिदार पदको परिक्षाका लागि दुई महिने तयारी कक्षा शुरु गरेको छ । जिल्लाका द्वन्द्वपीडित, दलित र अपांगलाई लक्षित गरी शान्ति समितिले बिहिबार बिहानदेखि लोकसेवा आयोगद्धारा लिईने खरिदार पदको तयारी कक्षा शुरु गरेको हो ।
दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालन हुने खरिदार पदको तयारी कक्षामा लोकसेवा तयारी गर्दा अपनाउनु पर्ने बिधि, परिक्षामा सोध्न सक्ने सम्भावित प्रश्नहरु र पाठ्यक्रमका बारेमा जानकारी दिईने स्थानीय शान्ति समितिका संयोजक रामप्रसाद दंगालले जानकारी दिनुभयो । लोकसेवाले लिने परिक्षामा जिल्लाका द्वन्द्वपिडित, अपांग र दलितलाई उल्लेख्यमात्रामा उत्तीर्ण गराउने उद्देश्यकासाथ तयारी कक्षा शुरु गरिएको शान्ति समितिले जनाएको छ ।
लोकसेवाको तयारी कक्षामा जिल्लाका १ सय जनाको सहभागीता रहेको छ । सदरमुकाम दिक्तेलस्थित समिक्षालय हलमा आयोजना गरिएको एक कार्यक्रमकाबीचमा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले लोकसेवा तयारी कक्षाको उद्घाटन गर्नुभएको हो ।
लोकसेवाको तयारी कक्षामा सहायक प्रमुख जिल्ला अधिकारी तिलकराम पोखरेल, जिल्ला निर्वाचन अधिकारी श्रीकुमार राई, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख तुलसीराम बस्नेत, जिल्ला वन कार्यालयका सहलेखापाल सिताराम राउत लगायतले अध्यापन गराउने स्थानीय शान्ति समिति खोटाङका नासु रमेश पोखरेलले बताउनुभयो । तयारी कक्षामा विषयका आधारमा अन्य प्रशिक्षकहरुको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ ।
शान्ति समितिले जिल्लामा ४ वर्षदेखि लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्दैआएको छ । लोकसेवा आयोगको तयारी कक्षा उद्घाटन कार्यक्रममा नेकपा एमाले र खम्बुवान राष्ट्रिय मोर्चा नेपालका बाहेक अन्य दलका प्रतिनिधिको उपस्थिति रहेको थिएन ।