फागुन–८, अपहरण, शरीर बन्धक तथा फिरौती सम्वन्धी मुद्दामा खोटाङका एक युवा कारागार चलान भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका–२ का काष्ठ व्यवसायी जनार्दन रेग्मीको अपहरण, शरीर बन्धक तथा फिरौती सम्वन्धी मुद्दा लागेका बुईपा–२ का १९ वर्षीय निकाश राई पुर्पक्षका लागि कारागार चलान भएका हुन् । 
व्यक्ति अपहरण, शरीर बन्धक तथा फिरौतीको आरोप लागेका राईलाई जिल्ला अदालत खोटाङले पूर्पक्षका लागि जिल्ला कारागार शाखा दिक्तेलमा थुनामा राख्न आदेश दिएको हो । काष्ठ व्यवसायी रेग्मीलाई गत चैत्र–१५ गते बुईपा–२ का सुनिल राई, अम्बर राई, निकाश राई, सल्लेका रबिन राई सहित ५जनाको समूहले विजयखर्कबाट नियन्त्रणमा लिएर सांघातिक आक्रमण गरेको भन्दै जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । 
बन्धक बनाई राखेको भन्दै उनीहरु विरुद्ध चैत २१ गते उजुरी परेको थियो । आदालतको आदेशपछि सोमबार मात्र पक्राउ परेका राईलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका मुद्दा शाखाका प्रहरी नायव निरीक्षक यादव गौतमले बताउनुभयो । 
गत बैशाख १२ गते जनही दश÷दश हजार धरौटी लिएर तारेखमा छाड्न दिएको जिल्ला अदालतको आदेशलाई पुनरावेदन अदालत राजबिराजले मङसिर–१७ गते बदर गर्दै आवश्यक कारबाही गर्न आदेश दिएपछि उनीहरुविरुद्ध पुनः कारबाही प्रकृया अघि बढेको हो । प्रतिकेजी ३ रुपैयाँका दरले कमिसन लिदै आएका उनीहरुले ७ रुपैयाँका दरले कमिशन मागेको र कुरा नमिलेपछि आफुमाथि आक्रमण भएको काष्ठ व्यवसायी रेग्मीको भनाइ छ ।