प्रदिप राई, फागुन २३, क्वालालम्पुर मलेसिया । वैदेशिक रोजगारको शिलशिलमा मलेसिया आएका खोटाङ जिल्लाका हजारौं कामदारहरुको विजोग भएको छ । धरपकडको अभियान सुरु भएयता विभिन्न कम्पनीबाट भागेर काम गर्दै आएका खोटाङ जिल्लाका बिभिन्न गाबिसहरुका दर्जनौं भगौडा कामदारहरुको अहिले विजोग भएको हो । 
मलेसियामा कम्पनी छोडेर अबैधानिक रुपमा काम गर्दै आएका खोटाङ याम्खाका सुरेन्द्र राई, सिम्पनी लोहकिलका धुर्ब कुमार पोखरेल सावा कटहरेका मिलन राई, छोराम्बु बुईखाका भबिन राई फेदी ३ का केबी राई, बुइपा लेक्पाका प्रयास राई, राजापानी खाम्तेलका बिदुर कार्की, राजापानी बडका दियालेका असोक राई, हलेसी धित्तुङका रोहन राई, बिजय खर्क भईरमपुरका केशब बानिया, छितापोखरी बास्तलाका तेन्जु लामा हाल नेपाल फर्कनलाई नेपाली दुताबासबाट ट्राभल डकुमेन्ट बनाए पनि मलेसियन इमेरीगेशन फिङर नगरेको कारण नेपाल फिर्न सकेका छैनन्। 
दिप्सुङ–१ का सीताराम बिश्वकर्मा अहिले नेपाल फर्किन दौडधुपमा छन् । उनको पासपोर्ट नभएको र नेपालबाट नागरिकताको प्रमाणपत्र पठाइदिएको भएतापनि नागरिकता हराएका कारण उनी नेपाल फर्किन सकिरहेका छैनन् । हाल मलेसियामा धरपकड शुरु भएपछि उनका परिवारले घर फर्काईदिन आग्रह गरेका छन् । तीनवर्ष अघि मलेसिया पुगेका दिक्तेल–८ सोल्माका तेजबहादुर दाहाल पनि कम्पनी छोडेर अबैधानिक रुपमा काम गर्दा अहिले आपतमा परेका छन् । आवश्यक कागजातको अभावमा अहिले उनि छटपटाई रहेका छन् ।
यस्तै डेढ वर्ष अघि मलेसिया पुगेका खिदिमा–२ का विकास राई भने नेपालमा दलालसँग भएको सम्झौता अनुरुपको काम र दाम नपाएपछि कम्पनी छाडि अन्यत्रै काम गर्न थालेका थिए । सबै कागजात कम्पनीमै छाडेका विकासलाई अहिले नेपाल फर्किन मुस्कील परिरहेको दुखेसो गर्छन । 
पैसा कमाउने आशामा महिना दिन अघि मात्रै मलेसिया पुगेका नुनथलाका चन्द्रकुमार तामाङलाई कम्पनीले कुनै काम नदिएपछि उनको सपना चकनाचुर भएको छ । ग्लोभ फ्याक्ट्रीमा ९०० रिँगेट बेसीक तलव भनेर आर आर ग्रुप मेनपावर काठमाडौंबाट मलेसिया गएका उनलाई कम्पनीले सोधिखोजी समेत गर्दैन ।
उनी सँगै गएका साथिहरुले काम सुरु गरिसकेपनि उनलाई भने खान बस्न समेत कम्पनीले दिएको छैन् । १ लाख ४० हजार तिरेर मलेसिया पुगेका तामाङको परिवार यतिखेर नेपाल फर्काउन आग्रह गर्दै जनसेवा समाज नेपालद्धारा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाको सुचना केन्द्रमा धाईरहेको सूचना केन्द्रकी परामर्शकर्ता अम्बिका दाहालले बताईन । 
मलेसियामा मात्रै हैन साउदीमा पनि कम्पनी छाडेर भाग्ने कामदारहरुको विजोग छ । दुई वर्ष अघि साउदीअरब पुगेका खिदिमा–२ का सुबास राई आठ महिनादेखी नेपाल फर्किन खोजेपनि अझै सफल हुन सकेको छैनन् । उनी पनि कम्पनी छाडेर भागेपछि कागजात विहिन बनेका हुन् । साउदी सरकारले ८ महिना सम्म आममाफि दिँदा कुनै पत्ता नपाएका राई यतिवेला छटपटाई रहेका छन् । चिउरीडाँडाका पन्चु राई भने मलेसिया जेलमा तिन महिना विताएर घर फर्किएका छन् । कम्पनी छाडि भागेर काम गर्दै आएका राई पक्राउ पछि जेल बस्नु परेको थियो ।