चैत–६, जिल्ला प्रशासन कार्यालय खोटाङको लापर्वाहीले जिल्लाबाट राहदानी बनाउने सयांै युवाहरुको राहदानी नबनेपछि उनीहरु हैरानीमा परेका छन् । एमआरपी राहदानी बनाउन जम्मा गरेको दस्तुर रकम फिर्ता नपाइने र पटक–पटक फारम भरेर पठाउँँदा समेत नबनेपछि जिल्लाका युवाहरु हैरानीमा परेका हुन् ।
राहदानी बनाउन सिफारिस लिएर राजधानी काठमाडौं जाँदा यहाँ बुझाएको रकम फिर्ता नपाउने र राजधानीबाटै बनाउँदा दोब्बर राजश्व बुझाउनुपर्ने हुँदा वैदेशिक रोजगारीका लागि जाने युवाहरु अन्यौलमा परेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालयको लापर्वाहीले आफूहरु समस्यामा परेको गुनासो गरेका छन् ।
असोज–७ गते जिल्ला प्रशासनमा एमआरपी बनाउन निवेदन पेश गरेपनि हालसम्म हात नपरेको छितापोखरी–७ का खड्ग विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो– ‘छ महिना बितिसक्यो, न राहदानी बन्यो न फारम नै फिर्ता आयो, सदरमुकाम आउँदा जाँदा हैरान भइसके ।’ उहाँले थप्नुभयो– ‘राहदानी बन्ने कुनै अत्तोपत्तो भएन, बरु आफूले ऋण काढेर बुझाएको पाँच हजार रुपैया दस्तुर समेत डुब्ने अवस्था छ ।’
पुस ९ गते फारम पेश गर्नुभएका लफ्याङ–२ का कुन्दन राईको पनि राहदानी बनेको छैन । के कारणले राहदानी नबनेको हो या पेश गरेको फारम नै हराएको हो भन्ने कुनै पत्तो नपाउँदा राजश्व स्वरुप बुझाएको दश हजार रुपैया माया मार्नुपर्ने अवस्था आइपरेको राईले बताउनुभयो ।
माघ २९ गते कार्यालयमा फारम बुझाएका बुइपा–२ का कैलाश श्रेष्ठले तीन पटकसम्म फारम बुझाउँदा समेत राहदानी नपाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो– ‘आफूले बुझाएको दश हजार रुपैया राजश्व रकम माया मार्न नसक्दा पुनः फारम बुझाएको हुँ, राहदानी बन्नेमा आशै मरिसकेको छ ।’
यसबारे प्रशासनमा पटक–पटक सोध्दा पनि सही जवाफ पाउन नसकेको उनीहरुको गुनासो छ । उनीहरु भन्छन्– ‘के भएको हो, यथार्थ जानकारी दिए त्यही अनुसार हामीलाई पनि काम गथ्र्यौ ।’ यता सहायक प्रमुख जिल्ला अधिकारी तिलकराम पोखरेलले यहाँबाट सिफारिस गरिने सबै ब्यक्तिको फारम मन्त्रालयमा पठाइएको र केही ब्यक्तिहरुको फारम मन्त्रालयले नै हराउने गरेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो– ‘मन्त्रालयबाट पठाउन छुट भएको पनि हुनसक्छ यस विषयमा प्रशासन कार्यालयबाट कर्मचारी पठाएरै राहदानी विभागमा ताकेता गर्ने तयारी गरेका छौं ।’
जिल्लाबाट एमआरपी राहदानी बनाउन सिफारिस पेश गर्दा ३५ देखि ४५ दिनसम्ममा बनिसक्नुपर्ने भएपनि तीन महिनाभन्दा यता, राहदानी पाउनेको संख्या कमै मात्र छन् । सुरुमा राहदानी पेश गर्दा बन्ने समय ४५ दिनको म्याद तोकिएको हुन्छ, तर खोटाङमा पाँच महिना बितिसक्दा समेत राहदानी नबनेपछि वैदेशिक रोजगारीमा जाने मनस्थिती बनाएका युवाहरु समस्यामा परेका छन् ।
यसमा सम्बन्धित निकायले चासो नदिएको उनीहरुको आरोप छ ।