चैत–१२, खोटाङमा मरणासन्न हुने गरी कुटाइ खाएका एक सामाजिक कार्यकर्ताले असुरक्षित हुने डरले उजुरी दिन नसकेको खुलासा भएको छ । तीन दिनअघि सदरमुकाम दिक्तेलस्थित आफ्नै पसलमा बसिरहेको अवस्थामा कुटिइएका बुइपाका युवा लोकमणि रिजालले फेरि कुटाई खाने डरले उजुरी नदिएको खुलासा भएको हो । 
रिजाल दिक्तेल भवन गैरास्थित खोटाङ मल्टिप्रपोज इन्स्टीच्यूट एण्ड टेक्निकल प्रालिमा बसिरहेको अवस्थामा दोर्पाचिउरीडा“डाका महेश राई र हरि गुरुङद्वारा आइतबार राती साडे नौं बजे कुटिएका थिए । कुटाईपछि एमालेका जिल्लास्थित केही नेताहरूको मध्यस्थतामा एक आपसमा सहमती भएको खुल्न आएको छ ।
उनलाई हस्पिटलबाट पार्टी कार्यालयमा ल्याएर मिलापत्र गरेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार दुबै पक्ष एमाले कार्यकर्ताहरू भएकाले मिलाइएको हो ।
कुटपिटमा संलग्न युवालाई सामान्य कारबाहीपछि छुट्ने र छुटेपछि फेरि कुटाई खाने डरले उजुरी नदिएको पीडित रिजालको भनाइ छ । रिजालले भन्नुभयो– ‘कारबाही हुँदा २५ दिन थुनामा बस्छ, त्यसपछि निस्किएर फेरि कुट्छन्, त्यही भएर मिलापत्र गरियो ।’
रिजाल स्थानीय जनसेवा समाज नेपालसम्बद्ध सामाजिक कार्यकर्ता हुन् । उनी स्वीस सरकारको सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) का सामाजिक परिचालक हुन् ।
यसबारे जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोविन्दकुमार साहले भने उजुरी नआएकाले पक्राउ र कारबाही गर्न नसकिएको बताउनुभएको छ ।