चैत–१४, नेपाल वायु सेवा निगमले खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थलमा पुनः उडान भर्न थालेको छ । गत फागुन–२४ गतेदेखि उडान बन्द गरेको वायु सेवा निगमले बिहीबारदेखि पुनः उडान भर्न शुरु गरेको हो । 

निगमको ग्राउण्डेड जहाजले खानीडाँडा विमानस्थलमा पुनः नियमित उडान भर्न शुरु गरेको निगमका खानीडाँडा स्टेशन इन्चार्ज यादवसेन राईले जानकारी दिनुभयो । उहाँका अनुसार निगमको एक मात्र ग्राउण्डेड जहाजले गत मंगलबारदेखि नियमित उडान शुरु गरेको हो । 
निगमको जहाजले खानीडाँडामा प्रत्येक हप्ताको बिहीबार र आइतबार काठमाडौं–खानीडाँडा–बिराटनगर तथा बिराटनगर–खानीडाँडा–काठमाडौं उडान भर्दै आएको छ । उडान शुरु भएपछि जिल्ला अस्पतालबाट रेफर गरिने बिरामीहरुका लागि सहज हुने अपेक्षा गरिएको छ ।
यसअघि उडान बन्द भएसँगै लामीडाँडामार्फत जटिल किसिमका बिरामीहरुलाई जिल्ला बाहिर लाने गरिएको थियो ।