चैत–२१, कारागारमा रहेका कैदी बन्दीहरुले मानवअधिकारको आधारभुत सेवा सुविधा उपभोग गर्न पाए नपाएको सम्बन्धमा अधिकारकर्मीहरुको एक टोलीले खोटाङको सदरमुकाम दिक्तेलस्थित कारागार शाखो अनुगमन गरेको छ । राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङ र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को टोलीले कारागारको अनुगमन गरेको हो ।
टोलीले कारागार प्रशासन तथा बन्दीसँग प्रत्यक्ष भेटेर कारागारको अवस्था र उपलब्ध सेवा सुविधाको बारेमा जानकारी लिएका छन् । ३३ महिला र ६६ जना पुरुष अटाउन सक्ने क्षमता रहेको कारागार शाखामा हाल १ सय ९ जना बन्दीहरु रहेका छन् । जसमध्ये ९७ जना पुरुष र १२ जना महिला वन्दीहरु छन् भने दुई जना बालबालिका आश्रीत छन् ।
अनुगमनको क्रममा बन्दीहरुले प्राथमिक उपचार, टेलिफोन, उपलब्ध पत्रपत्रिका र खेलकुदको सुविधा राम्रो रहेको बताएका छन् । उनिहरुले बढ्दो महंगीका कारण दैनिक पाउने सात सय ग्राम चामल र ४५ रुपैया पैसाले जीवन धान्न कठीन भएको बताएका छन् भने क्षमताभन्दा बढी संख्या भएकाले सुत्नबस्न समस्या हुने उनीहरुको गुनासो छ ।
कारागारका जेलर चित्रखर आचार्यले क्षमताभन्दा बढी कैदी भएपछि सुत्नबस्न समस्या हुनुका साथै खानेपानी र चर्पीको समेत अभाव भएको बताउनुभयो । खानेपानीको व्यवस्थापन हुन नसक्दा थुनुवा र कैदीले समयमै नुहाउन र लुगा धुन पाउँदैनन् । 
कारागारमा संख्या धेरै भएकाले एक–एक हप्तामा चर्पी भरिने गर्दा पुरै कारागार दुर्गन्धित बन्ने जेलर आचार्यको भनाई छ । कारागारमा टेलिफोन सम्पर्क नहुने हुँदा कुनै घटना घटिहाले तत्कालै जानकारी गराउन डाँडातर्फ दोडनुपर्ने गुनासो गर्नुभयो । 
कारागार गहिरो ठाउँमा भएकाले सिडिएमए फोन हल्का मात्र सञ्चालन हुन्छ भने नमस्ते, एनसिएल, स्काई र ल्याण्डलाईन फोन चल्दैन ।